निकुञ्ज अतिक्रमण गरेको भन्दै सेनाको टोलीद्वारा चेपाङका घरगोठमा आगजनी
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कोरक्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका–९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ । निकुञ्जको सेनाको टोलीले आइतबार साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो ।
स्रोतका अनुसार निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवको नेतृत्वमा गएको सेनाको टोलीले घरगोठमा आगजनी गरेको हो ।
स्थानीयले बताएअनुसार करिब १५ घरमा आगजनी भएको माडी नगरपालिकाका मेयर ठाकुर ढकालले बताए । आगजनीपछि मेयर ढकालसहितको टोली आगजनी भएको स्थानमा निरीक्षणका लागि गएको थियो ।
अँध्यारो भइसकेकाले घर गन्न नसकिएको भन्दै उनले एक पूरानोसहित केही नयाँ घरमा आगजनी भएको बताए । कुसुमखोलामा २०४८ सालदेखि बसोबास गर्दै आएका चेपाङलाई माडी नगरपालिकाले गत वर्ष स्थानान्तरण गरेको थियो । अहिले फेरि गएर बनाइएका नयाँ घरमा निकुञ्जको सेनाले आगजनी गरिदिएको हो ।
‘धेरैलाई त्यहाँबाट हामीले स्थानान्तरण गरेर तल ल्याइसकेका छौँ, अहिले फेरि केहि मान्छेहरु त्यहाँ गएर बस्न थाल्नुभएको रहेछ,ु उनले भने, ‘त्यहाँ बस्नुहुन्न, तल ल्याउनुपर्छ भनेर हामी सल्लाहमै थियौँ । तर हिजो त्यहाँ गएर हामीसँग समन्वयन नगरी आगजनी गर्ने काम भयो, बस्न नहुने ठाउँ भएपनि आगजनी गर्न हुन्नथ्यो ।’
एउटा घरमा नागरिकतालगायतका महत्वपूर्ण कागजातसहित आगजनी गरिएको भन्ने जानकारी आएको उनले बताए ।
स्थानान्तरण गरेर ल्याइसकिएका केहि मान्छे फेरि फर्किएर सोहि ठाउँमा गएको र अधिकांश मान्छे जिल्ला बाहिरबाट आएर बसोबास गर्न थालेको उनले बताए । कुसुमखोलामा फेरि २५ भन्दा बढी घर बनाइसकेका छन्, जसमध्ये करिब १० वटामा मान्छे बसोबास गर्ने गरेको उनी बताउँछन् ।
स्थानीय पुराना बासिन्दा काजीमान प्रजाबाहेक सबैको घर नयाँ बनाएको पाइएको उनले बताए । गत वर्ष निकुञ्ज प्रशासनले घरगोठमा आगजनि गरिदिएपछि पनि उनी स्थानान्तरण हुन मानेका थिएनन् ।
आफुलाई ६ कठ्ठा जग्गा नदिएसम्म स्थानान्तरण भएर नजाने उनले अडान लिँदै आएका छन् । नगरपालिकाले दिने एक कठ्ठामा खेतीपाती गर्न नपुग्ने भन्दै उनले स्थानान्तरण हुन नमानेको मेयर ढकालले बताए ।
नगरपालिकाले गत वर्ष कुसुमखोलाका २५ घरलाई बगई, ८० घरलाई राई डाँडा र ४२ घरलाई परुई खोला किनारमा ल्याएर स्थानान्तरण गरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जको कोर इलाकामा बसोबास गरेका मान्छेलाई पटक–पटक नबस्न आग्रह गर्दा पनि नयाँ घरगोठ बनाउने क्रम नरोकिएपछि आगजनी भएको बताए । घटनाको आधिकारीक जानकारी हेडक्वार्टरमा नआएको उनले बताए ।
निकुञ्जले यसअघि ३ साउन २०७७ मा पनि कुसुमखोलामा बसोबास गर्दै आएका चेपाङका दुई घरमा आगजनी र आठ हात्ती लगाएर भत्काएको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्