राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यी १२ राजनीतिक दल दर्ता
काठमाडौँ, १० पुस । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।
उक्त निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन् ।
आयोगका अनुसार, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नं दुई र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले बागमती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश नं २ मा मात्र भाग लिने जानकारी दिइएको छ ।
आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई पुस १ देखि आजसम्म दल दर्ताका लागि समयावधि प्रदान गरेको थियो ।
प्रत्येक निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नपर्ने संवैधानिक व्यवस्था छ । उक्त निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ ।
निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।
उन्नाइस पदका लागि हुने उक्त निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन् । आगामी यस निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।
आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा(एस)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली काँग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । विज्ञका रूपमा मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि सोही मितिमा पूरा हुनेछ ।
प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।
राष्ट्रियसभा सदस्यको पदावधि छ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नपर्ने प्रावधान छ ।
उक्त निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । सोही दिनदेखि निर्वाचन आचारसंहित सबैका लागि लागू गराउने आयोगले सोच बनाएको छ । –रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रियसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्