कात्तिक नाट्य महोत्सव बुधबारदेखि मञ्चन हुने
हरेक वर्ष पाटनको कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा मञ्चन गरिने ‘कात्तिक नाट्य महोत्सव’ यो वर्ष भने आउँदो बुधबारदेखि प्रदर्शन गरिने भएको छ । विसं १६९७ सालमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । नाच प्रदर्शनका लागि धमाधम तयारी अघि बढिरहेको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस वर्ष हामीले मात्रै आठ दिन यो नृत्य मञ्चन गर्र्ने भएका छाँै ।” मुलुकमा अझै कोरोना महामारी पूर्णरुपमा न्यूनीकरण भइनसकेकाले बुधबारदेखि अर्काे बुधबारसम्म देखाउने योजना बनाइसकेको उहाँले जानकारी गराउनुभयो । सो नृत्य प्रदर्शनका लागि मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “यो नाच संरक्षणका लागि गत वर्ष ललितपुर महानगरपालिकाले रु एक करोड सहयोग गर्ने घोषणा गरेबमोजिम रु ५० लाख दिइसकेको र बाँकी रकम यसैवर्ष प्रदान गर्ने जनाएको छ ।” सो नाचलाई अझै व्यवस्थित बनाउन आफूहरुले पनि गत वर्ष कोष खडा गर्नका लागि रु १० लाख सहयोग गरिसकेको १६ नं वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।
भगवान् विष्णुको कथामा आधारित सो नाच मञ्चनका लागि एक महिनाअघिदेखि पाटन दरबार सङ्ग्रहालयभित्र तालिम दिइरहेको समितिका सचिव विजय तण्डुकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष हामीले नृत्य मञ्चन गर्नका लागि इच्छुक व्यक्तिलाई उमेरको हदबन्दी लगाएका छैनाँै ।” सो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवकारुपमा सम्पूर्ण नेपालीसामु रहन सफल भएको छ । ऐतिहासिक, सांस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता रहेको यो नाचको गरिमा आज पनि उतिकै छ । यस गरिमामय नाचको सर्जक स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई दिइन्छ ।
कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विघ्नबाधा हटेर शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास रहिआएको छ । सो नाचको थालनीले सुरुआती चरणदेखि नै जनतालाई एउटै सुत्रमा बाँधेर मनोरञ्जन दिनाका साथै धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गर्ने जनाइएको छ । कात्तिक नाच प्रथम पटक पाँच दिन प्रदर्शनी भएको थियो । सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिनसम्म सञ्चालन गरिएको जानकारहरू बताउँछन् । यसैगरी श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका कुरा पनि सुन्नमा पनि आउँछ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्काे दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको थियो । यो ललितपुरको मात्र नभई सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत सांस्कृतिक जगेर्ना गर्ने माध्यम पनि बनिरहेको छ ।
कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यो नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन हुनु ठूलो विशेषता रहेको छ । कोरोना महामारी आउनुअघि मुलुककै लामो नाट्य महोत्सव हेर्न स्वदेशीका साथै विदेशी मुलुकका थुप्रै मानिस पाटन आउँथे । हिन्दूका साथै बौद्ध धर्मावलम्बीका लागि पनि अति नै महत्वपूर्ण सो नाट्य महोत्सव यस वर्ष भने केहीमात्रामा कोभिड महामारी घटेकाले दरबार क्षेत्रभित्र इच्छुकलाई प्रवेश गराई हेर्न दिइने भएको अध्यक्ष चित्रकारले जानकारी दिनुभयो ।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #‘कात्तिक डबली’, #नाट्य महोत्सव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्