विषादीरिहत तरकारी खेतीका लागि सीप सिक्दै किसान
नुवाकोट, १६ कात्तिक : “हामीले तरकारी खेती त गर्दै आएका थियौँ तर किराले बाली भुसुक्कै पाथ्र्याे । किरा थाम्ने उपाय बल्ल थाहा पाइयो”, प्राङ्गारिक खेती र खानायोग्य उत्पादनबारे दुईदिने तालिम लिएपछि बेलकोटगढी नगरपालिका–११ का जयनारायण मुडभरीले भन्नुभयो, “अब पहिलाभन्दा बढी उत्पादन गर्न सकिन्छ भन्ने आँट आएको छ ।
” मुलुकका ६० भन्दा बढी जिल्लाका चार सय बढी कृषि फार्ममा लामो समयदेखि तरकारी खेतीमा परामर्श दिँदै आएका भक्तपुरका शिव यन्द्योले स्थानीय किसानलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अनुभव बाँडेपछि किसान उत्साहित छन् । ती गाउँस्थित कँडेल कृषि फार्मका सञ्चालक गोपी कँडेल र दाङ्मैस्थित सिड्स पर्माकल्चरका सञ्चालक किशोरी लोहनीको पहल तथा नगरपालिकाको सहयोगमा पालिकाको वडा नं ११ मा आयोजित तालिममा उन्नत मलखादको उत्पादन र प्रयोग, आधुनिक नर्सरीको निर्माण, विषादीरहित तरकारी उत्पादन, व्यावसायिक उत्पादन र बजारबारे प्रस्तुतिकरण गरिएको थियो । ‘व्यावसायिक गोलभेँडा खेती’ पुस्तक लेखेका र आफ्नै सहकारीमार्फत वार्षिक करोडौँ रुपैयाँको तरकारी उत्पादन र व्यापार गराएको अनुभव भएका ‘सेफ फुड’का अभियानकर्मी यन्द्योलाई किसानले समय कम भएका कारण कुरिलो, च्याउलगायत खेतीबारे आफ्ना सबै जिज्ञाषा भने मेटाउन पाएनन् ।
सरकारी निकाय कृषि ज्ञान केन्द्रबाट खासै तालिम र सहयोग नपाएको गुनासो गर्ने स्थानीय किसानले यस्ता विज्ञलाई भेट्दा धेरै खुल्दुली हुनु स्वभाविक हो । विज्ञ यन्द्योले टेलिफोन र अनलाइन माध्यमबाट पनि किसानलाई परामर्श दिँदै आउनुभएको छ । विषादीरिहत उत्पादन गर्ने किसानले उनीहरुकै मूल्यमा बजारमा उत्पादन दिन सक्ने स्थिति छ ।
नगरपालिकाका कृषि प्राविधिक तथा तालिमका सहभागी सम्झना कँडेलले यन्द्योको तालिम प्रभावकारी भएकाले यसलाई आफूहरुले थप विस्तार गर्ने बताउनुभयो । नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले यस्ता तालिममा पालिकाको तर्फबाट पनि सहयोग हुने उल्लेख गर्दै रासायनिक मलले केही वर्षपछि जमिन नै मरुभूमिमा परिणत हुने खतरा आएका बेला प्राङ्गारिक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । तालिममा तरकारी खेतीका नर्सरीदेखि नै रासायनिक मल र माटोको प्रयोग नगरी बीउ उत्पादन गर्न सिकाइएको थियो । प्लाष्टिक ट्रेमा कम्याट (व्याक्टेरियम), पोटासियम, गड्यौले मल र कोकोपिट मात्राअनुसार मिसाएर त्यसका बीउ राखेमा बीउमा कुनै रोग नलाग्ने हुन्छ ।
बेर्ना रोपेपछि झोल मल प्रयोग गरेर त्यसलाई हुर्काउन सकिन्छ । तरकारीमा फेद कुहिने, अगौटा डढुवा, पछौटे डढुवा, सेतो ढुसी, साउथन ब्लाइट, लिफ मोल्डलगायत रोग लाग्ने भएकाले त्यसको कसरी उपचार गर्ने भन्ने विधि पनि किसानले थाहा पाएका छन् । पासाङल्हामु मार्गको सडक निर्माण नभइसकेकाले यहाँका किसानको उत्पादनलाई सहजरूपमा काठमाडौँ लान नसकिने गुनासो छ । महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्राप्त व्यवसायी कँडेलले किसानलाई ज्ञान र सीपमा पोख्त बनाएर उनीहरुको मेहेनतअनुसारको प्रतिफल आओस् र स्वरोजगारबाटै धनी होऊन् भन्ने आफूहरुको भावना रहेको बताउनुभयो ।
त्यसका लागि आफूले व्यक्तिगत सहयोगको क्रमलाई निरन्तरता दिने उहाँको भनाइ छ । प्राङ्गारिक कृषि विज्ञसमेत रहेका किशोर लोहनीले धेरै समयको प्रयासपछि यन्द्योजस्ता विज्ञलाई गाउँमा ल्याउन सकिएको र अब स्थानीय किसानले गरिखान सक्ने विश्वास बढेको बताउनुभयो । सरकारले कृषिका लागि अनुदान पनि दिन थालेकाले गाउँ–गाउँमा व्यावसायिक खेतीको क्रम भने बढ्दो छ ।
क्याटेगोरी : वातावरण-कृषि, समाचार
ट्याग : #विषादीरिहत तरकारी खेती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्