Techie IT
सोमबार, भदौ २२,२०८३

गोसाइँकुण्डमा लेक लागि अचेत अवस्थाका यात्रुको उद्वार


जनै पूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डको तीर्थ सम्पन्न गरी घर फर्किँदै गर्दा लेक लागि अचेत अवस्थामा पुगेका एक व्यक्तिको मङ्गलबार उद्वार गरिएको छ । अचेत हुनेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ सल्लेडाँडा निवासी २१ वर्षीय विवेक श्रेष्ठ रहनुभएको छ ।

उहाँको उद्वार प्रहरीले गरेको हो । पवित्र कुण्डमा स्नान गरी फर्कने क्रममा नुवाकोट र रसुवाको सिमाना छेडा भञ्ज्याङ क्षेत्रमा साँझ बास बसेकै स्थानमा लेक लागेर श्रेष्ठ अचेत अवस्थामा पुग्नुभएको थियो ।

बिरामीको खबर पाउनासाथ प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालको आदेशबाट नेपाल प्रहरी, विष्णु दल गणका नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्वार टोली सोमबार नै परिचालन गरिएको थियो ।

बिरामीलाई रातभर बोकेर अस्पताल पु¥याइएको थियो । श्रेष्ठको जिल्ला अस्पताल धुञ्चेमा उपचार भइरहेको र उहाँको अवस्था क्रमिकरूपमा सुधार भइरहेको चिकित्सकले बताएका छन् ।

ती बिरामीलाई समुद्र सतहदेखि करिब चार हजार ३०० मिटरको उचाइबाट सुरक्षाकर्मीले उद्वार गरेको हो । मानव बस्ती बाहिरको हिमाली क्षेत्र भएका कारण जङ्गलको पदमार्ग पहिचान गराउन र बोक्ने कार्यमा समेत यार्साका बासिन्दाले सहयोग गरेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

यस्तै गोसाइँकुण्ड मेलामा आएका करिब तीन हजार ५०० यात्रुमध्ये लेक लागेर बिरामी परेका चार जनालाई उद्वार गरिएको र सबैको अवस्था सामान्य बन्दै गएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

अन्य तीन जनालाई गोसाइँकुण्ड क्षेत्रबाट उद्वार गरिएको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #गोसाइँकुण्डको तीर्थ


तपाईको कमेन्ट लेख्नुहोस्