भेटिए द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति
नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो ।
“बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ व्यक्ति सम्पर्कमा आएका छन्, परिवारसँग सकुशल भेटिएका छन्”, आयोगका अध्यक्ष युवराज सुवेदीले भन्नुभयो, “अध्ययन गर्दै जाँदा भेट्ने क्रम जारी छ, अरु पनि भेटिन्छन् भन्ने आयोगलाई विश्वास छ ।
” आयोगले उजुरीको अध्ययन गरी छानबिन गर्न जाने क्रममा हालसम्म भेटिएका बेपत्ता व्यक्तिमा नुवाकोट विदुर नगरपालिका–१२ का लछुमनप्रसाद भट्ट, स्याङ्जा वालिङ नगरपालिका–६ का गोपालप्रसाद अर्याल, कैलाली घोडाघोडी नगरपालिका–१३ का हेमराज जोशी, कञ्चनपुर पुनर्वास नगरपालिका–१० का कृष्णप्रसाद दुलाल र इलाम माइनगरपालिका–७ का चन्द्रबहादुर शाह रहनुभएको छ ।
त्यस्तै झापा कमल गाउँपालिका–१ का भीष्मजङ्ग रायमाझी, चितवन भरतपुर उपमहानगरपालिका–१३ का गङ्गाधर तिमिल्सिना, रुकुमपश्चिम सानीभेरी गाउँपालिका–११ का उमेश विक, दार्चुला नौगाड गाउँपालिका–५ का विक्रमसिंह ठगुन्ना, ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का रोहित भट्टराई, डडेलधुरा परशुराम नगरपालिका–९ का कालुसिंह ठगुन्ना, नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) रामग्राम नगरपालिका–१५ का केशवप्रसाद उपाध्याय पौडेल र गोरखा नारेश्वर–६ का राजुविक्रम शाह फेला पर्नुभएको हो ।
फेला पर्नुभएका अन्य व्यक्तिमा मोरङ मिक्लाजुड गाउँपालिका–३ का कुमार सुवेदी, ललितपुर गोदावरी नगरपालिका–१३ का राजकुमार राना, कञ्चनपुर भीमदत्त नगरपालिका–१८ का धनबहादुर दाहाल, बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ का डबल बुढा र तनहुँ म्याग्दे गाउँपािलका–१ का शिवप्रसाद खनाल रहनुभएको छ ।
त्यस्तै भोजपुर नगरपालिका–३ का रामकुमार राई, भोजपुर रामप्रसाद राई गाउँपालिका–३ का बबिन राई, सङ्खुवासभा चैनपुर–११ का जगनाथ हेडवा र लक्ष्मीबहादुर बुढा, डोटी शिखर नगरपालिकाका जनक भण्डारी, चितवन रत्ननगर नगरपालिकाका बेनीमाया अधिकारी र रौतहट गौर नगरपालिका–१ का सन्तोष जैसवाल परिवारसँग सकुशल भेएिका हुन् ।
त्यस्तै दैलेख नारायण नगरपालिका–६ का जयाप्रसाद जैशी, स्याङ्जा पुतलीबजार नगरपालिका–२ का टुकबहादुर पौडेल, सल्यान कालिमाटी गाउँपालिका–१ का पहलमान बस्नेत, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ का नीलबहादुर थापा र सर्लाही बसबरिया गाउँपालिका–३ का हरिमोहन चौधरी परिवारको साथमा भेटिनुभएको हो ।
नेपालमा विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ सम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएको भनेर आयोगमा उजुरी परेको थियो । सोही उजुरीको अध्ययन गर्ने क्रममा ३१ व्यक्ति फेला पारी हाल परिवारको सम्पर्कमा रहेका छन् ।
आयोगमा परेका तीन हजार २२३ उजुरीमध्ये २३७ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको थियो । त्यसमध्ये १३१ उजुरी दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको थियो । साथै २८९ उजुरीमा सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्ने नै आधार प्रमाण नदेखिएकाले तामेलीमा राखिएको थियो ।
आयोगले दुई हजार ४९५ उजुरीमा विस्तृत छानबिन गरिरहेको छ । उजुरीका आधारमा दुई हजार ५१३ व्यक्ति बेपत्ता पारिएको भनी आयोगको तथ्याङ्कमा उल्लेख छ । आयोगका अनुसार दुई हजार २७४ उजुरीमा उजुरीकर्ता बुझ्नेलगायतका काम सम्पन्न भएको छ ।
उजुरी परेका ७५ जिल्लामध्ये ७३ जिल्लाको स्थलगत भ्रमण गरी आयोगले अनुसन्धान गरिसकेको छ भने १५ जिल्लाका १८८ परिवारका ५४० जनालाई पीडित परिचयपपत्र वितरणसमेत गरिसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बेपत्ता ३१ व्यक्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्