कोभिडको जोखिम बढ्ने सङ्केत , सबैभन्दा बढी सङ्क्रमण काठमाडौँ उपत्यकामा
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा सङ्क्रमण दरमा वृद्धि भइरहेकाले जोखिम बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी यतीखेर सर्तक हुन सकिएन भने गाह्रो अवस्था सिर्जना हुने बताउनुहुन्छ । “जोखिमयुक्त हुँदाहुँदै जनजीवन सहजीकरण गर्न निषेधाज्ञा खुकुलो गरिएको हो, कोरोना सबै सकियो भनेर होइन”, डा अधिकारीले रासससँग भन्नुभयो, “अझै हाम्रो व्यवहार, शैली परिवर्तन गर्नु हुन्न, सबै मापदण्डको पूर्ण पालनामा नचुकौँ ।
” मन्त्रालयले अघिल्लो महिनामा सार्वजनिक सूचना नै जारी गरी तेस्रो लहरको सङ्क्रमण आउन सक्ने र त्यस समयमा बालबालिका बढी जोखिममा पर्नसक्ने आंकलन गर्दै अस्पताललाई आवश्यक शय्या व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ ।
जनस्वासथ्यविद् डा रविन्द्र पाण्डे प्रजाति नै परिवर्तन भएर तेस्रो लहर आउनसक्ने भन्दा पनि यही डेल्टा प्रजाति नै वृद्धि हुने अनुमान गर्नुहुन्छ । भारतमा समेत सङ्क्रमण बढ्न थालेकाले त्यसको प्रत्यक्ष मार नेपालमा पर्ने वितगको उदाहरण छ । मुख्यगरी निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणले गति लिन थालेको जनाइएको छ ।
बजारमा मानिसको भिडभाड बढ्न थालेको र मापदण्ड पालनामा पुनः लापरवाही देखिन थालेको छ । चार दिन अघिको दैनिक तथ्याङ्कसँग बुधबारको तुलना गर्दा एक हजार ३७६ जना बढी सङ्क्रमित देखिनु भनेको जोखिम बढ्दै गएको सङ्केत हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा बुधबार (असार २३ मा) ११ हजार ८९८ को परीक्षणमा दुई हजार ९७९ मा सङ्क्रमण देखियो । त्यसको अघिलो दिन असार २२ मा भन्दा ३४५ जना बढी सङ्क्रमित अर्थात् १२ हजार ५८५ जनाको परीक्षणमा दुई हजार ६३४ जनामा सङ्क्रमण देखिएको थियो । त्यसको अघिल्लो दिन २१ गतेको तथ्याङ्कमा ११ हजार ५२७ को परीक्षण गर्दा दुई हजार ६२२ मा सङ्क्रमण देखिएको थियो ।
असार २० गते एक हजार ६०३ जना सङ्क्रमित फेला परेका थिए । दोस्रो लहरको सङ्क्रमण फैलिँदा गएको वैशाख पहिलो हप्तादेखि बाग्लुङ जिल्लाबाट निषेधाज्ञा शुरु भएको थियो । वैशाख १६ गतेदेखि उपत्यकालगायत सङ्क्रमण फैलिएको धेरै जिल्लामा आदेश जारी गरिएको थियो । वैशाख र जेठ महिनामा ह्वात्तै बढेको कोरोना असार लागेसँगै घटेपछि विस्तारै निषेधाज्ञा खुकुलो पार्न थालिएको हो । सङ्क्रमण घटेसँगै अहिले केही जिल्लाले निषेधको आदेश हटाइसकेका छन् भने लागू भएका जिल्लामा समेत आर्थिक गतिविधि र मानवीय आवागमनलाई सहज पारिएको छ ।
सबैभन्दा बढी सङ्क्रमण देखिएको काठमाडौँ उपत्यकामा यही २२ गतेदेखि सार्वजनिक सवारीसमेत सञ्चालन गरिएको छ । अन्तर जिल्ला यातायत आवागमन र दर्शक उपस्थित भएर गरिने गतिविधि बाहेकका अन्य गतिविधि खुला गरिएको छ ।
यसरी निषेधको आदेश खुकुलो बनाउँदा मानिसमा कोरोना नै हराइसकेको भन्ने सन्देश पुगेकाले समस्या बढ्ने डा पाण्डेको विश्लेषण छ । उहाँ २५ देखि ३० प्रतिशतको हाराहारीमा सङ्क्रमण दर रहेकै बेला निषेधाज्ञा खुकुलो बनाइनु जोखिम हटेर नभइ आर्थिक र मानवीय गतिविधि चलायमान बनाउनका लागि भएकाले सर्वसाधारणले गम्भीरतापूर्वक बुझ्नुपर्नेमा सुझाव दिनुहुन्छ ।
गृह मन्त्रालकया प्रवक्त जनकराज दाहाल अहिले कुनै पनि गतिविधि गर्दा स्वास्थ्यका मापदण्डलाई भुल्न नहुनेमा जोड दिनुहुन्छ । मानिस आफैँ सचेत भएनन् भने जोखिम स्वभाविक रुपमा बढ्ने उहाँको भनाइ छ । उहाँले जोखिमको अवस्था हेरेर जिल्लाले आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिइएको समेत जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोभिड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्