कता हरायो कोरोना खोप?
काठमाडौं, १० असार । स्वास्थ्य मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरू छोटोछोटो समयमा फेरिँदा नेपालले अपेक्षाकृत रूपमा खोप भित्र्याउन सकेको छैन । सुरुमा अनुदानका खोपको भर परेर बसेको सरकारले अहिले खरिद गर्न खोज्दासमेत खोप उत्पादक कम्पनी र दाताले पत्याएका छैनन् । पछिल्लो समय उनीहरूले सरकारी निकायले लेखेका पत्रको जवाफसमेत दिन छाडेका छन् ।
कोरोना महामारी सुरु भएयता तीन जना स्वास्थ्यमन्त्री फेरिइसकेका छन् । बारम्बार मन्त्री परिवर्तन हुँदा दाता र खोप उत्पादन गर्ने कम्पनीले पत्याउन छाडेको कर्मचारीहरू बताउँछन् ।
एक वर्षअघि मुलुकमा कोरोना संक्रमण सुरु हुँदा भानुभक्त ढकाल स्वास्थ्यमन्त्री थिए । उनी पर्यटनमा सरुवा भएपछि २०७७ पुस १० मा स्वास्थ्यमन्त्रीको जिम्मेवारी हृदयेश त्रिपाठीले सम्हाले । उनी पनि हटेपछि २०७८ जेठ २१ मा शेरबहादुर तामाङले मन्त्रालय सम्हाले र १९ औं दिनमा पदमुक्त भए ।
‘एउटा मन्त्रीले दाता, खोप उत्पादन गर्ने मुलुक र कम्पनीसँग कुराकानी गरेर निर्णयको चरणमा पुगेको हुन्छ । मन्त्री परिवर्तन भएपछि फेरि खरिदको निर्णय धकेलिन्छ,’ मन्त्रालयका उच्च तहका एक कर्मचारीले भने, ‘अब त खोपको कुरा गर्दा तिमीहरूको देशको सरकारको अवस्था त त्यस्तो छ भन्छन् । हामीलाई विश्वास गर्नै छाडिसके ।’ खोप खरिदका लागि प्रस्ताव गर्दा कुनै जवाफ नदिनुको यस्तै कारण हुन सक्ने ती कर्मचारीले बताए ।
नेपालले दातृ निकायलाई पनि खोप किनेर दिन आग्रह गर्ने गरेको छ । सरकारले खोप होस् वा अन्य उपकरण खरिदमा चासो दिएको छैन । उसले सहयोगमात्रै जुटाइरहेको छ । ‘खरिद गर्दा विवादमा परिने र सेनालाई अघि सार्ने भएपछि हामीले अरूसँग मागेर जुटाउने नीति लिएका छौं,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘कोरोनाको पहिलो लहरमा ओम्नीसँग स्वास्थ्य सामग्री खरिद गर्ने बेला कर्मचारीलाई फसाइएकाले दोस्रो लहरमा खरिदभन्दा पनि मागेरै काम चलाउन पत्राचार गर्यौं । सहयोग पनि राम्रै जुटेको छ ।’
विदेशमा रहेका नेपाली, दातृ निकाय, संघसंस्था, विदेशी मुलुकले सरकारलाई भन्दा पनि नेपाली जनतालाई सहयोग गरेको पूर्वमन्त्री त्रिपाठीले बताए । ‘मैले जति पनि दूतावास र खोप उत्पादन गर्ने देशका सरकारका पदाधिकारीसँग नियमित सम्पर्क गरें, उनीहरूले नेपाली जनतालाई सहयोग गर्ने हो भन्थे,’ उनले भने ।
त्रिपाठीले स्वास्थ्यमन्त्रीबाट बिदा हुँदै गर्दा भारतले १७ लाख खोप १५ दिनभित्र पठाउने बताएका थिए । उनले भनेको मिति पनि गुज्रिसकेको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिदका लागि सरकारले अग्रिम भुक्तानी गरे पनि १० लाख खोप आउन सकेको छैन । मकर श्रेष्ठले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्