मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो
हुम्रे प्रहरी चौकीसहित पाँच घर पूर्णरुपमा विस्थापित
चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङदी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मस्र्याङ्दी नदी थुनिएको छ, नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ ।” चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो । माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मस्र्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ ।
थुनिएको भागबाट मस्र्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ । यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ । सिङ्गो चामेबजार जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत कटान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ । प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ ।
उहाँले नेपाली सेनामार्फत बम विस्फोट गराई मस्र्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताउनुभयो । सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताउनुभयो ।
त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उहाँले जानकारी दिनुभयो ।

ङिस्याङ गाउँपालिकामा रहेको हुम्रे प्रहरी चौकी बाढीपहिराको जोखिममा परेको छ । गत सोमबारदेखि परेको अविरल वर्षाका कारण पालिकाको हुम्रे प्रहरी चौकी जोखिममा परेको हो । चौकी जोखिममा परेपछि सबै सामान सुरक्षित स्थानमा सारिएको छ । चौकीका साथै पाँच घर पूर्णरुपमा विस्थापित भएका छन् ।
विस्थापितलाई सुरिक्षत स्थानमा राखिएको गाउँपालिकाका जनस्वास्थ्य प्रमुख श्रीनारायण यादवले जानकारी दिनुभयो । जिल्लामा प्राकृतिक प्रकोप झनै बढ्दै गएपछि अब के गर्ने भन्ने विषयमा राष्ट्रिय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मस्र्याङ्दी नदी थुनियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्