Techie IT
बुधबार, साउन २७,२०८३

बाँदरमुढेमा तत्कालीन माओवादीले यात्रु बसमा विष्फोटको घटना भएको १६ बर्ष


चितवनको दक्षिण माडी (बाँदरमुढे) मा तत्कालीन माओवादीले यात्रु बसमा गराएको विष्फोटको घटना भएको १६ बर्ष पुगेको छ ।

तर यात्रुबाहक बसमा गरेको बम विस्फोटमा परी घाइते भएकाहरुले अझैसम्म उचित न्याय पाउन सकेका छैनन् ।

बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिले पटक(पटक न्यायका लागि पहल गरेपनि प्रतिबद्धता अनुसारको काम नभएको गुनासो पीडितहरुले गर्दै आइरहेका छन् ।

घटना भएको जेठ २३ गते १६ बर्ष पूरा भएपनि न्याय दिन आलटाल भइरहेको भन्दै पीडितले उचित न्याय दिनेतर्फ सबै गम्भीर हुनुपर्ने बताएका छन् ।

तत्कालीन माओवादीका नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड अहिले सो क्षेत्रको सांसद समेत रहनु भएको छ । संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसंग गरेका सहमति अझै कार्यान्वयन हुन सकेको छैन ।

मृतकका आश्रृत परिवारका काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृती र बालबालिकालाई पढाइ दिने सहमति भएको थियो ।

विसं २०६२ जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए ।

अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ आउँदै गरेको ना२ख ३२४५ नंको बसमा तत्कालिन सशस्त्र युद्धरत माओवादीले बम विस्फोट गराएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #बाँदरमुढे


तपाईको कमेन्ट लेख्नुहोस्