Techie IT
आईतबार, साउन २४,२०८३

नेपालमा नयाँ प्रजातिको ‘लहरे सर्प’ फेला


नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ।

पहिलो पटक स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल, रेञ्जर यामबहादुर रावत तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका डा नरेश सुवेदी, कोषका संरक्षण अधिकृत सन्तोष भट्टराई सम्मिलित टोलीले उक्त सर्पको पहिचान गरेको हो।

विश्वमा जम्मा १० प्रजातिका लहरे सर्प पाइन्छन्। उक्त सर्प शुरुमा रेञ्जर रावतले फेला पारेका थिए । पछि उक्त टोलीले सर्पको नयाँ प्रजाति पुष्टि गरेको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख लक्ष्मणप्रसाद पौडेलले दुई वर्षदेखि सरिसृप र उभयचरको अध्ययनका क्रममा यसरी नयाँ प्रजातिको सर्प फेला परेको जानकारी दिए।

उक्त प्रजाति नेपालबाहेक भारतमा मात्र फेला परेको छ। उनका अनुसार शुल्लाफाँटाका लागि योसहित ११ सर्प, चार भ्यागुता, एक कछुवा, एक छेपारो र एक भालेमुङ्ग्रो नयाँ फेला परेको छ।

यो प्रजाति सन् २०१९ मा विश्वमै पहिलो पटक भारतको उडिसा र राजस्थानमा फेला परेको थियो। दोस्रो पटक भारतकै गुजरात भेटिएको थियो। लहरे सर्प लौकाको सुकेको डाँठ जस्तो देखिने र भारतको उडिसामा लौकालाई स्थानीय भाषामा लौडङ्का भन्ने गरेकाले सर्पको वैज्ञानिक नाम अहेतुल्ला लौडाँकिया भनेर नामकरण गरिएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्