Techie IT
शुक्रबार, साउन २९,२०८३

संवैधानिक इजलासमा महान्यायाधिवक्ता र वकिलबीच चर्काचर्की, सुनुवाइ स्थगित


काठमाडौँ । संसद पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर रिटमाथिको आजको सुनुवाइमा स्थगित भएको छ । रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच इजलासमै मतभेद भएपछि सुनुवाइ आइतबारसम्मका लागि स्थगित भएको हो ।

तत्कालीन नेकपाको विवादका बारेमा फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको विषयमा रिट दायर गर्ने पक्षका अधिवक्ता गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले प्रश्न उठाएपछि इजलासमा मतभेद देखिएको थियो ।

अधिवक्ता बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठ इजलासमा नरहँदा अदालतको मान बढ्ने कुरा उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशले गरेका फैसलाका आधारमा यस्ता कुरा उठ्ने हो भने कोही पनि बाँकी नरहने जवाफ फर्काउनु भएको थियो ।

विवादकै बीच शम्भु थापा, रमण श्रेष्ठ, टिकाराम भट्टराईलगायतका वरिष्ठ अधिवक्ताहरु बन्दीको भनाइको पक्षमा उभिएका थिए । महान्यायाधिवक्ता रमेश बडालले आपत्ति जनाएर उठेपछि केहीबेर विवाद समेत भएको थियो ।

महान्यायाधिवक्ता बडालले इजलासलाई दबाबमा राख्ने रणनीति अनुसार अर्को पक्ष आएको र न्यायाधीश छनौट गर्ने अधिकारसमेत लिन खोजेको भन्दै प्रतिवाद गर्नु भएको थियो ।

महान्यायाधिवक्ता बडालले आफूले इजलासमा कानून व्यवसायीको आचारसंहिताको विषय उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले इजलासमा वकिलको इथिक्स उठाएको विषय हो । कुनै पनि न्यायाधीशमाथि वकिलले प्रश्न उठाउने होइन । शेरबहादुर देउवाको मुद्दामा वकिलले पक्ष र विपक्षमा बहस गरेका थिए । एउटा वकिलले पक्ष र विपक्षमा बहस गर्न मिल्दैन भनेको हो ।’

विवादकै बीच प्रधानन्यायाधीशले आजको सुनुवाइ हेर्दा हेर्दैमा रहेको भन्दै आइतबारसम्मलाई स्थगित गर्नु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #महान्यायाधिवक्ता र वकिलबीच चर्काचर्की


तपाईको कमेन्ट लेख्नुहोस्