Techie IT
बुधबार, मंसीर ३,२०८३

नेपालमा पहिलोपटक देखियो हरियो परेवा


चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् ।

वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो । नेपालमै पहिलोपल्ट सो प्रजातिको चरा भेटिएको उनकोे दाबी छ ।

चराका बारेमा पुस्तक लेख्दै आएका डा हेमसागर बरालले उक्त चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिसकेका छन् । ’मैले चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा चार वटा अनौठा परेवाजस्ता चरा देखेँ’, मेचीनगर–६ निवासी खरेलले रासससँग भने, ’फोटो खिचेर पक्षी संरक्षण संघ र डा बराललाई पठाएँ, उहाँले यो पक्षी हरित परेवा रहेको र पहिलोपल्ट भेटिएको पुष्टि गर्नुभयो ।’

चराहरुको खोजी र संरक्षणमा पाँच वर्षदेखि लागिरहेका उनले झापा, इलाम, सुनसरी, चितवनलगायत स्थानमा डुलेर पक्षीको तस्बिर खिच्ने र तिनको संरक्षणका लागि जनचेतना जगाउने काम गर्दै आएका छन् ।

हरित परेवालाई अहिलेसम्म पाइने चराको सूचीमा राखिएको छैन । अब चराहरुको प्रजाति ८८७ पुगेको मान्नुपर्ने चरा खोजकर्ता खरेलले दाबी गरे । घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने भएको हुँदा सो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #हरियो परेवा


तपाईको कमेन्ट लेख्नुहोस्