Techie IT
आईतबार, साउन २४,२०८३

बसुन्धारा ‘राधा स्वामीमा ८८ शय्याको कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ


जेठ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

आज शुक्रबार काठमाडौंको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । ‘हामीले जिटूजी र बीटूबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेका छौं । जतिसुकै बजेट लागे पनि हामी छिटो ल्याउन प्रयत्नशील छौं,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘भारत सरकारले छिट्टै नेपाललाई लिक्वीड अक्सिजन प्लान्ट सहयोग गर्दैछ । चीन सरकारले दिएको अक्सिजन सिलिण्डर पनि छिट्टै ल्याउँछौ । निजी क्षेत्रलाई पनि प्रोत्साहित गरिरहेका छौं ।’

विभिन्न देशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको र सहयोग आउने क्रम पनि जारी रहेको उनको भनाइ छ । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईंको समग्र नेतृत्व गरिरहेको समेत बताए । अहिले फैलिरहेका बिभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न आग्रह गर्दै उनले अहिले जति पनि भ्रमपूर्ण कुराहरू फैलिएका छन्, त्यसमा कुनै सत्यता नभएको प्रष्ट पारेका छन् ।

 

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ शय्याको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले आज एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन् ।

तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित सुरु भएको यो आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकता अनुसार २०० बेडसम्म सञ्चालन गर्न सकिने यस आइसोलेशन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

यो आइसोलेशन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीहरूको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

आइसोलेशन केन्द्र शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल, प्रधानसेनापति पूर्णचन्द्र थापा, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलगायतको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #बसुन्धारा ‘राधा स्वामी


तपाईको कमेन्ट लेख्नुहोस्