आज ५ बजेसम्म कुनै प्रधानमन्त्री दाबी नगरे सरकारले नयाँ निर्वाचन घोषणा गर्ने
महन्थ ठाकुर वा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारेर जान सक्ने झिनो विकल्प
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि दिएको समयसीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधारसहित प्रधानमन्त्री दाबी गर्ने सम्भावना कमजोर देखिएको छ।
शुक्रबार (आज)साँझ ५ बजेसम्म कुनै पनि सदस्यले प्रधानमन्त्री दाबी नगरे ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाको नयाँ निर्वाचन मिति घोषणा गर्नेछ। विपक्षी नेपाली कांग्रेससहितका दलहरूले शुक्रबार साँझसम्ममा नयाँ प्रधानमन्त्री दाबी गर्न नसके ओली नेतृत्व सरकारले संवैधानिक सबै प्रक्रिया पूरा गरी मंसिर दोस्रो साताका लागि निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ।
नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी निर्णायक देखिएको छ। यसअघि कांग्रेस नेतृत्वमा संयुक्त सरकार गठनका लागि जसपाले अस्वीकार गरेको थियो। जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष तयार नहुँदा ओलीको विकल्प दिन विपक्षी दल असफल भएका थिए। संवैधानिक प्रक्रिया अनुसार संयुक्त सरकार गठन गर्न सम्भव नभएपछि संसद्को ठूलो दलको हैसियतमा केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका थिए। जसपाको एउटा पक्षको समर्थनमा विश्वासको मत लिने तयारी ओलीले गरिरहेका बेला जसपाका अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादवले आफ्नो दलको नेतृत्वमा बाहेक अर्को दलको नेतृत्वमा सरकारमा सहभागी नहुने सहमति गरेका छन्।
राष्ट्रिय सहमतिको सरकार गठन हुने अवस्थामा भने सरकारमा सहभागी हुने जसपाले जनाएको छ। जसपाको उक्त सहमति कायमै रहेको अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूको नेतृत्वमा सरकार गठनको सम्भावना कमजोर देखिएको छ।
ओली नेतृत्व सरकारको विकल्प दिन कांग्रेस र माओवादीले महन्थ ठाकुर वा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारेर जान सक्ने झिनो विकल्प रहेको नेताहरू बताउँछन्। ‘अर्को वैशाखमा निर्वाचन गर्नेगरी ओलीको विकल्प दिन जसपा नेतृत्वमा सरकार बनाएर जान पनि सकिन्छ,’ माओवादीका एक नेताले भने, ‘त्यसका लागि कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ।’
कांग्रेसभित्र ओलीको विकल्प खोज्नुपर्ने र निर्वाचनमा जाने दुवै मत समानान्तर रहेको जनाउँदै एक नेताले भने, ‘सकेसम्म आफ्नै नेतृत्वमा सरकार गठनका लागि हामी पहल लिनेछौं।’ चैत २१ गतेको केन्द्रीय समिति बैठकले पार्टीकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको सुनाउँदै ती नेताले भने, ‘एमाले नेता माधवकुमार नेपाल पक्षको समर्थनमा कांग्रेस नेतृत्वमा सरकार गठनको सम्भावना पनि छ। तर, अहिलेसम्म सरकार गठन नै हुन्छ भन्ने स्पष्ट आधारचाहिँ छैन।’ ठाकुरलाई समर्थन गरेर जाने वा एमालेको असन्तुष्ट पक्षलाई साथमा लिएर अघि बढ्ने विश्वासिलो आधार नभएको जनाउँदै ती नेताले भने, ‘जसपा र कांग्रेस आआफ्नो निर्णयमा कायमै रहेको अवस्थामा निर्वाचनबाहेक अर्को विकल्प छैन।
रातभरिमा केही परिवर्तन भए अर्को कुरा हो।’यसैबीच कांग्रेसले बिहीबार राति विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधानविपरीत र अलोकतान्त्रिक रहेको जनाएको छ। यससम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक शुक्रबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बालकृष्ण अधिकारीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नयाँ सरकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्