प्रचण्ड ,नेपाल सहित पूर्वराजा र पूर्वप्रधानमन्त्रीसहितका गाडी र सुरक्षाकर्मी सरकार द्धारा फिर्ता
काठमाडौँ । सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित सार्वजनिक पदाधिकारीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ। मन्त्रिपरिषद् बैठकबाट हालै पारित गरिएको अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले पूर्वराजा ज्ञानेन्द्र शाह तथा राजपरिवारका सदस्यको सुरक्षामा तैनाथ करिब ५० जना सुरक्षाकर्मी र २ वटा पिकअप भ्यान फिर्ता गरेको छ । पूर्वराजा र राजपरिवारका सदस्यको सुरक्षामा सशस्त्र प्रहरीका डीएसपी शिव राउतको कमान्डमा नागार्जुनमा ‘सशस्त्र प्रहरी नागार्जुन सुरक्षा बेस’ र निर्मल निवासमा राजेन्द्र गुरागाईंको कमान्डमा ‘क्लोज प्रोटेक्सन’ टिम खटिँदै आएको थियो । सशस्त्रले नागार्जुन बेस पूरै फिर्ता गरेको हो । दुईवटा भ्यान फिर्ता गरिएपछि ज्ञानेन्द्रको सुरक्षार्थ अब पछुवामा एउटा मात्रै पिकअप भ्यान रहनेछ ।
त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा तैनाथ प्रहरीका २६ र सशस्त्रका ३१ सुरक्षाकर्मी तथा प्रहरीको एउटा अगुवा गाडी फिर्ता गरिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटिएका ३ र अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा तैनाथ १ जना सशस्त्र प्रहरी फिर्ता भएका छन् । पछिल्लो कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्र प्रहरीबाट पछुवा पिकअप भ्यान र १६ प्रहरी तथा अंगरक्षकका रूपमा २ जना नेपाल प्रहरी खटाइने उल्लेख छ । देउवा र नेपालको सुरक्षामा सशस्त्रका क्रमशः १९ र १७ जना सुरक्षाकर्मी खटिँदै आएका थिए । प्रहरीका अंगरक्षक भने यथावत् राखिएको छ ।

यसैगरी १० जना पूर्वगृहमन्त्रीको सुरक्षार्थ तैनाथ पछुवा गाडी र सशस्त्रका सुरक्षाकर्मी पनि फिर्ता भएका छन् । नेताको पहुँच, प्रभाव र भनसुन तथा मन्त्रिपरिषद्का पटके निर्णयबाट विभिन्न व्यक्तिका चालक र अंगरक्षकमा खटिएका सुरक्षाकर्मी फिर्ता हुने क्रममा रहेको दुवै सुरक्षा निकायले जानकारी दिएका छन् ।
पूर्वगृहमन्त्रीहरू रामचन्द्र पौडेल, वामदेव गौतम, कमल थापा, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, शक्ति बस्नेत, कृष्णबहादुर महरा, भीम रावल, गोपालमान श्रेष्ठ र पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको सुरक्षामा खटिएका पछुवा गाडीसहित सबै सशस्त्र प्रहरी फिर्ता गरिएका छन् ।
पूर्वगृहमन्त्री जनार्दन शर्माको सुरक्षार्थ खटाइएका गाडी र सशस्त्र प्रहरी पनि फिर्ता हुने क्रममा रहेको सशस्त्रले जनाएको छ। अब पूर्वउपप्रधान र गृहमन्त्रीहरूलाई सुरक्षा थ्रेट मूल्यांकनका आधारमा नेपाल प्रहरीका जुनियर अधिकृत २ जनासम्म खटाइने भनिएको छ । मन्त्रिपरिषद्का विभिन्न पटके निर्णय, पहुँच र प्रभावका आधारमा पूर्वपदाधिकारीहरूले पछुवा गाडी सुविधा लिँदै आएका थिए ।
पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुरक्षामा कार्यविधिमा उल्लेखित १६ जनाभन्दा कम जनशक्ति खटिएका कारण फिर्ता गर्नु नपरेको गृह मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पछुवा गाडी र सुरक्षाकर्मी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्