Techie IT
मंगलबार, वैशाख २३,२०८२

ओली नेतृत्वको नेकपाको माघ २३ को जनसभा नारायणहिटी अगाडि


 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौंमा गर्ने जनसभाको तयारी थालेको छ ।

 

काठमाडौँमा ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको कमिटीले जनाएको छ। सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने तयारी छ ।
कमिटीका सचिव खेमप्रसाद लोहनीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको अवस्थामा नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको बताए । उनका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलगायत शीर्ष नेताले सभामा सम्बोधन गर्नेछन् । यसका लागि ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारा तय गरिएको छ ।

प्रदेश कमिटीको माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो । सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

 

यस्तै प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय संगठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले स्वय‌ंसेवक परिचालन गर्ने जनाइएको छ ।

उक्त दिन माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको सांगीतिक प्रस्तुति लिएर टोली जुलुसमा सहभागी हुने कमिटीले जनाएको छ । कमिटीका अनुसार जुलुसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय संगठन आआफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाका प्रतिनिधि आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ । सभाको तयारीका लागि माघ २१ गते काठमाडौँमा १० हजार मोटरसाइकल र्‍यालीसमेत गरिने जनाइएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:18 am6:42 pm +0545