Techie IT
मंगलबार, वैशाख २३,२०८२

टेकु अस्पतालका निर्देशकले लगाए नेपालमा पहिलो पटक कोरोनाविरुद्धको खोप


काठमाडौंको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले नेपालमा पहिलो पटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।

डा.राजभण्डारीले बुधबार बिहान नेपालमै पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका हुन् । अभियान उद्घाटनलगत्तै डा.राजभण्डारीले खोप लगाएका छन् ।

कोरोनाविरुद्धको सुरक्षित खोप लगाउन डराउनु पर्दैन भन्ने सन्देश दिन आफूले शुरुमै खोप लगाएको उनले बताएका छन् ।

उनीसँगै डा. अनुप बाँस्तोला र डा. रुना झाले पनि कोरोनाविरुद्ध खोप लगाएका छन् । यससँगै देशैभर कोरोना खोप अभियान शुरु भएको छ ।

काठमाडौं उपत्यकामा १७ वटासहित देशभर १ सय २० केन्द्रबाट कोरोना खोप दिइनेछ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ ।

शुक्रराज अस्पतालमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सफाइकर्मी गरी २६४ जनाले बुधबार खोप लगाउँनेछन् ।

केन्द्रमा स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका स्वास्थ्यकर्मी, काठमाडौं अस्पताल, ब्लुक्रस, राजधानी अस्पतालका २ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई पनि खोप दिइनेछ ।

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पहिलो दिन नै ३ सय जना स्वास्थ्यकर्मीले खोप लगाउनेछन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला नेत्र अध्ययन केन्द्रका ३ हजारभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीले पनि खोप लगाउने छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पहिलो पटक कोरोनाविरुद्धको खोप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:18 am6:41 pm +0545