प्रधानमन्त्रीले देशलाई ठूलो सङ्कटबाट जोगाउनुभयो : बिजुक्छे
भक्तपुर, ७ पुस। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताउनुभएको छ ।
उहाँले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिनुभएको छ । वर्तमान राजनीतिक घटनाक्रमका बारेमा रासस प्रतिनिधि रमेश गिरीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोबाट जोगाएको छ, पार्टी फुटे अर्को बन्ला, देश फुटे के गर्ने ?
यतिखेर ओलीले देश फुट्नबाट जोगाउनुभएको छ, तर यो सङ्कट अझै टरेको छैन, आगामी दिनमा अझै खतरा छ, चलखेल अझै हुन्छ, यसतर्फ अब जनता सजग हुनु जरुरी छ ।” संविधानले परिकल्पना गरेको मान्यता र संविधानभित्रै रहेर प्रधानमन्त्रीले कदम चालेको जिकिर गर्दै पूर्वसांसद बिजुक्छेले संविधानभित्रका केही कमजोरीलाई संशोधन गरेर जानुपर्ने आवश्यकता भने आँैंल्याउनुभयो ।
प्रधानमन्त्री ओलीले ‘कु’ गरे भन्नु गलत भएको टिप्पणी गर्दै नेता बिजुक्छेले राज्य विद्रोह, सैनिक विद्रोह गराएर सत्ता कब्जा गर्ने खेललाई मात्रै ‘कु’ भन्न मिल्ने तर्क राख्नुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले ‘कु’ गर्नुभएको होइन, बरु ‘कु’ असफल चाहिँ पार्नुभएको हो ।” दुई तिहाइ बहुमत नजीकको सरकारका राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आफ्नै नेताहरु नै लाग्नु बाह्य चलखेल भएको जिकिर गर्दै उहाँले यसमा प्रधानमन्त्री ओली निकै सचेत भएको र अझै सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
बयासी वर्षीय नेता बिजुक्छेले भन्नुभयो, “देशमाथि आएको यस्तो सङ्कटमा पनि यो कदम नचालेको भए इतिहासले ओलीलाई लाछी प्रधानमन्त्री भन्थ्यो, उहाँले देशलाई विभाजन हुनबाट जोगाउन यो कदम चाल्नुभएको हो ।”
गुमेको नेपाली भूमि नक्शामा समावेश गरी भूमि फर्काउने अडान ओलीले कायम राखेकाले पनि अहिलेको परिस्थिति आएको तर्क उहाँले दिनुभयो ।
उहाँले नयाँ जनादेशका लागि चुनावमा जानाको विकल्प नभएको जनाउँदै सरकारले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउनुपर्नेमा जोड दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नारायणमान बिजुक्छे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्