Techie IT
शुक्रबार, असार २६,२०८३

पुस पहिलो साताबाट बञ्चरेडाँडामा फोहोर व्यवस्थापन


काठमाडौँ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा पुस पहिलो साताबाट फोहोर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ ।

निर्माणले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताएको हो ।

केही समय कोरोना भाइरस सङ्क्रमणका कारण काम हुन नसकेको र निर्माण कम्पनीको आलटालका कारण काम नभए पनि अहिले काम तीव्र गतिमा भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।

उनका अनुसार ल्याण्डफिल साइट निर्माणको कामअन्तर्गत अहिले माटो मिलाउने काम भइरहेको छ ।

दुई हप्ताअघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले स्थलगत अवलोकनका क्रममा यही मङ्सिर १५ गतेदेखि फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सीमानामा पर्दछ ।

काठमाडौँ महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरुप मन्त्रालयले उक्त जिम्मेवारी पाएको हो ।

करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहोर विसर्जनस्थल निर्माण हुनेछ ।

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो ।

विसर्जन स्थल निर्माण गर्न रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ सम्झौता भएको थियो । बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ ।

तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाको १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहोर निस्कन्छ । सबैभन्दा बढी कामपाबाट निस्कने गरेको छ ।

काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहोर लगिने गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बञ्चरेडाँडामा फोहोर व्यवस्थापन


तपाईको कमेन्ट लेख्नुहोस्