Techie IT
आईतबार, माघ ६,२०८१

काठमाडौँको सडकबाट बेसहाराको उद्धार तीव्र


काठमाडौँ उपत्यकालाई बेसहारा सडक मानव मुक्त गर्ने लक्ष्यअनुसार अहिले यहाँ उद्धार अभियानलाई तीव्र पारिएको छ । रात्रीकालीन सडक सेवा नै सञ्चालन गरेर उद्धार थालिएको हो । उद्धार अभियान सञ्चालन गरिरहेको मानवसेवा आश्रमका अनुसार सामाजिक सङ्घसंस्था र सरकारी निकायसँगको समन्वयमा काठमाडौँ, ललितपुर र भक्तपुरमा उक्त अभियान सञ्चालन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै सडकका कोही भोकै रहँदैन, भोकले कोही मर्दैन त्यसको जिम्मा सरकारले लिन्छ भनेर यसअघि नै घोषणा गरिसक्नुभएको छ ।

सोही योजनाअनुसार यो वर्षभित्रै काठमाडौँ उपत्यकालाई बेसहारा सडक मानव मुक्त बनाउने तयारी थालिएको छ । आश्रमका प्रवक्ता सुमन बर्ताैलाले काठमाडौँ, ललितपुर र भक्तपुरमा रात्रीकालीन र दिउँसोमा समेत उद्धार अभियान थालिएको जानकारी दिनुभयो ।

सोही अभियानका क्रममा पछिल्लो एक हप्तामा मात्रै १५ जनाको सडकबाट उद्धार गरिएको छ । उनीहरुलाई काठमाडौँ, ललितपुर र भक्तपुरको आश्रममा लगेर राखिएको छ । “गत वर्ष नै उपत्यकालाई बेसहारा सडक मानव मुक्त बनाउने योजना कोरोनाका कारण सफल हुन सकेन, अब छिट्टै घोषणा गर्ने गरी काम थालिएको छ”, प्रवक्ता बर्ताैलाले भन्नुभयो ।

घोषणाका लागि काठमाडौँ महानगरलगायत विभिन्न स्थानीय तह, सङ्घीय सरकारका सरोकार राख्ने मन्त्रालयसँग समन्वय भइरहेको जनाइएको छ । काठमाडौँ उपत्यकामा सहयोगापेक्षी सडक मानव न्यून रहे पनि पेशेबर मगन्तेका कारण समस्या भइरहेको छ ।

उनीहरुको व्यवस्थापन चुनौतीपूर्ण छ । सरकारले आगामी विसं २०७८ भित्र मुलुकलाई नै बेसहारा सडक मानव मुक्त बनाउने योजनाअघि सारेको छ । आश्रमले अहिले मुलुकका विभिन्न सातै प्रदेशका २१ स्थानबाट सहयोगापेक्षी उद्धार गरिरहेको छ ।

हाल एक हजार १०० भन्दा बढीलाई संरक्षण दिँदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सडकबाट बेसहाराको उद्धार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mist
6:53 am5:35 pm +0545