गोकर्णेश्वर महादेव मन्दिरको सुनको छाना लेपन तीन वर्षदेखि अलपत्र
राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न शुरु भएको काम तीन वर्षदेखि अलपत्र छ । विसं २०७४ मा पित्तलको पातामा सुन लेपन गरी छाना फेर्न सहयोग जुटाउने उद्देश्यले महायज्ञ गरी शुरु भएको काम अझै पूरा हुन सकेको छैन । विसं २०७४ फागुन २३ देखि चैत दुई गतेसम्म यही प्रयोजनका लागि मन्दिर प्राङ्गणमा महायज्ञ गरिएको थियो । महायज्ञबाट खर्च कटाएर रु तीन करोड बचेको थियो ।
झिँगटीको छानाबाट पानी चुहिएर ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिरका काष्ठकला, मन्दिरको गाह्रो एवं मूर्तिमा समेत क्षति हुन थालेपछि छाना फेर्ने अभियान शुरु भएको हो । प्यागोडा शैलीको तीनतले मन्दिरको माथिल्लो दुई तलाको छाना फेरी सकिएको छ । माथिका दुई तला सानो छ । सबैभन्दा तलको फराकिलो छाना आधा फेरेर एक वर्षअघिदेखि अलपत्र छ । काम अघि बढ्न सकेको छैन ।
गोकर्णेश्वर नगरपालिका–४ को अध्यक्षसमेत रहनुभएका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ बजेट अभाव भएर काम रोकिएको स्वीकार गर्नुहुन्छ । “हालसम्म पौने नौ किलो सुन छानामा लेपन भइसकेको छ, अझै करिब सात किलो सुन लाग्ने अनुमान गरिएको छ, पहिलो चरणमा जम्मा २१ किलो सुन लाग्ने प्रारम्भिक अनुमान गरिए पनि करिब १६ किलो सुनले पुग्ने देखिएको छ, त्यसकै लागि पनि सहयोग जुटाउन सकिएको छैन”, उहाँले भन्नुभयो ।
अलपत्र छानाको काम अघि बढाउन सहयोग नजुटेपछि चालू आर्थिक वर्षका लािग नगरपालिकाले रु तीन करोड विनियोजन गरेको छ । नगरपालिकाले तीन चरणमा गरेर सुन किन्न लागेको जनाइएको छ । नगरपालिकाले आव २०७५÷७६ मा पनि रु एक करोड बजेट विनियोजन गरेको थियो ।
आव २०७६÷७७ मा विनियोजन गरेको रु तीन करोड परिषद् बसेन भन्ने बहानामा एक पैसा पनि नआएको गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समितिका अध्यक्ष कोमलबहादुर विष्ट बताउनुहुन्छ । महायज्ञकै क्रममा २२ तोला सुन सहयोग स्वरुप सङ्कलन भएको थियो । महायज्ञमै प्राप्त भाँडा बेचेर रु ३९ लाख आम्दानी भएको पनि समितिले जनाएको छ ।
विसं २०७५ असार २२ गते नै झल्लर, कुटा, ख्वापालगायत मन्दिरका संरचना बनाउन शुरु गरिएको थियो । त्यसै वर्ष पुसबाट सुनको लेपन गरिएको छाना राख्न नै शुरु भएको थियो । काम शुरु भएको तीन वर्ष हुन लाग्दासमेत सुनको लेपन गरिएको पाता राख्न भत्काइएको छाना अलपत्र छ । कोरोनाको महामारी शुरु भएदेखि नै काम अघि बढ्न सकेको छैन ।
कोरोनाकै कारण नगरपालिकाको बजेट नआउँदा समेत काम प्रभावित भएको हो । मुख्य मन्दिरहरुमा सुनको छाना, मूर्तिलगायत संरचना स्वर्णजडित बनाउने लहर नै चलेको देखिन्छ ।
मन्दिर क्षेत्रमा सुनका संरचना बनाइए पनि त्यसको संरक्षण चुनौतीपूर्ण बन्दै गएको पुरातत्व विभागका अधिकारीहरु बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णेश्वर महादेव मन्दिर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्