संक्रमण समुदायमा फैलिएकोबारे अध्ययन शुरु
काठमाडौँ २३ असोज ः सरकारले कोरोना भाइरस (कोभिड– १९) को संक्रमण समुदायस्तरमा फैलिएको बारेमा एन्टिवडी परीक्षण गर्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनका सहयोगमा एन्टिवडी परीक्षणका लागि विज्ञ सहितको प्राविधिक टोली आजदेखि सातवटै प्रदेशमा खटाएको छ ।
काठमाडौमा तालिमपश्चात टोलीलाई आज प्रदेश खटाइएको हो ।
महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोभिड १९ को संक्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्न अध्ययन गर्नका लागि टोली परिचालन गरिएको बताउनुभयो ।
अध्ययनबाट नेपालमा समुदायस्तरमा संक्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउने उहाँले जानकारी दिनुभयो ।
एन्टिवडी परीक्षणका लागि समुदायमा सेरो प्रिभिलेन्स अध्ययन गरिने छ ।
टोली आज सम्बन्धित स्थानीय तहमा पुगेर भोलि (शनिवार) स्थानीय प्राविधिकसंग तालिम पश्चात आइतबारबाट रगतको नमुना संकलन गर्ने उहाँले बताउनुभयो ।
नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको छ । संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ ।
गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरकै रहेका अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । संक्रमणको तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिएको भन्ने हुन्छ । तर नेपालमा कुनै खासखास ठाउँमा (कलस्टर)मा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।
“नेपालमा अहिले केही जिल्लाका खासखास ठाउँमा (कलस्टरं)मा संक्रमण फैलिएको छ, ” उहाँले भन्नुभयो, “ अव समुदायको कुन तहसम्म फैलिएको छ भन्ने त अध्ययनबाट थाहा हुन्छ ।”
गत माघ १० गते नेपालमा पहिलो पटक संक्रमण देखिएको थियो ।
अहिलेसम्म नेपालमा ९८ हजार ६१७ जनामा संक्रमण देखिएको छ । यस्तै ७१ हजार ३४३ जना संक्रमणबाट निको र ५९० जनाको निधन र २६ हजार ६८४ जना सक्रिय संक्रमित रहेका छन ।
यस्तै अहिलेसम्म २३५ जना आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन ।
महाशाखाले एन्टिवडी परीक्षणका लागि प्रत्येक प्रदेशमा ६ समूह परिचालन गरिएको छ ।
ति समूहले बच्चा, बृद्धा, महिला, युवा लगायत विभिन्न उमेर समूह र समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिसको रगत संकलनबाट एन्टिवडी परीक्षण गर्ने छन ।
यस्तै संक्रमित भएका र नभएकाको पनि एन्टिवडी परीक्षण गर्ने छ ।
महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले प्रत्येक प्रदेशका ३० वटामा रहेका मानिसको रगत नमुना परीक्षण गरिने बताउनुभयो । उहाँका अनुसार एक वडामा १५ जनाको दरले नमुना परीक्षण गरिने छ ।
यसरी प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १५० जनाको नमूना सकलन गरी परीक्षण गरिने छ ।
उहाँले भोलि टोलीले स्थानीय तहमा आवश्यक तालिम गरेर पर्सि (आइतबार)बाट नमुना संकलन गर्ने बताउनुभयो ।
उहाँले दशै अगाडि सवै नमुना संकलन गरेर नमुना राष्टिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताउनुभयो ।
कोभिड १९ को संक्रमण सवै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि मन्त्रालयले समुदायस्तरमा संक्रमण फैलिएको भन्नेबारेमा अध्ययन शुरु गरेको हो ।
अध्ययनका क्रममा जति प्रतिशतलाई संक्रमण देखियो त्यतिप्रतिशत नै नेपालमा संक्रमण फैलिएको भन्ने अनुमान गर्न सकिने महाशाखाका जनस्वास्थ्य अधिकृत महतोले जानकारी दिनुभयो ।
“सक्रमणको सूचक हेर्दा अहिले समुदाय स्तरमा नै हो कि भन्ने देखाउछ,”, महाशाखाका निर्देशक डा. पाण्डेले भन्नुभयो, “ तर अब अध्ययन गरेपछि मात्र समुदायमा संक्रमण छ वा छैनन भन्ने पुष्टि गर्दछ ।”
पहिले ट्राभल हिस्ट्री भएका मानिसमा मात्र संक्रमण देखिएकोमा अहिले ट्राभल हिस्ट्री नभएका र समुदायमा रहेका व्यक्तिमा पनि संक्रमण देखिएको थालेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कुनै कलस्टरमा संक्रमण फैलिएको र समुदायमा संक्रमण फैलिएकोबारे अध्ययन गरेरमात्र थाहा हुने बताउनुभयो ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
ट्याग : #कोभिड– १९ः
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्