लकडाउन खुलेसंगै उपत्यकामा चर्को भिडभाड
कोभिड–१९ को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ । बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि उपत्यकामा मानिसको आवागमनसमेत बढेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।
सवारी भित्रिने क्रम बढेकाले मानिसको चहलपहलमा वृद्धि भएको प्रहरीले जनाएको छ । मानिस र सवारीको चाप हुँदा कोभिड–१९ को जोखिम बढेको छ । उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अन्य जिल्ला र उपत्यकाको हकमा एउटै नियम लागू गर्दा कोरोनाको सङ्क्रमण दर बढेको बताउनुभयो । “हामी उपत्यकाको नाका खोल्न नहुने पक्षमै थियौँ, सरकारलाई सुझाव पनि दिएको हो, तर कार्यान्वयन नहुँदा भीडभाड र सङ्क्रमण दर बढेको छ”, उहाँले रासससँग भन्नुभयो, “उपत्यका र अन्य जिल्लामा एउटै नियम लागू गर्नुहुन्न भन्ने पक्षमा हामी छौँ ।”
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले झण्डै २० हजार सवारीसाधान उपत्यका भित्रिने र सोही हाराहारीमा बाहिरिने गरेको छ । सोमबार उपत्यकामा चार हजार ५८३ सवारीमा १९ हजार ९०० यात्रु भित्रिएका थिए । चार हजार ६९८ सवारीमार्फत २० हजार भन्दा बढी यात्रु बाहिरिएका छन् । फलस्वरुप भीडभाड बढेको महसुस भएपछि आजदेखि भने विशेष आदेशको पूर्ण कार्यान्वयनमा लागेको उपत्यकाको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणालीअनुसार सवारी सञ्चालनमा छ । सार्वजनिक सवारी साधनले पनि आधा मात्रै यात्रु राखेर हिँड्न पाउँछन् । सवारीले ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको छ । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सवारी चलाउन भनिएको छ । सबै सवारीले पूर्णरुपमा आदेश लागू गरेका छैनन् भने जोर बिजोर प्रणालीमासमेत बेपरवाह भएको पाइएको प्रहरीले जनाएको छ ।
प्रमुख श्रेष्ठले जोरबिजोर प्रणाली अहिले कागजमै सीमित भएको बताउनुभयो । त्यसकारण पनि उपत्यकामा भीडभाड बढेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल एक÷दुई दिन केही खुकुलो हुँदा सवारी बढेको पाइएकाले आजदेखि जोरबिजोरको पूर्ण कार्यान्वयनमा प्रहरी परिचालन गरिएको बताउनुभयो । आज मध्याह्नसम्ममा मात्रै उपत्यकामा एक हजार १०० सवारीलाई कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक र भौतिक दूरी कायम नगर्ने सवारी साधानलाईसमेत कारवाही तीव्र पारिएको छ ।
तोकिएभन्दा बढी भाडा लिएको, बढी यात्रु राखेको तथा स्वास्थ्यमापदण्ड प्रयोग नगरेको पाइएमा पनि सवारीलाई कारवाही गरिने उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक रुपमा सार्वजनिक गर्ने गरेको विवरण अनुसार देशभर कोरोना सङ्क्रमित मानिसको झण्डै आधा उपत्यकाका व्यक्ति छन् । त्यसैले उपत्यकाको भीडभाड रोक्न विशेष व्यवस्था गर्नुपर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ । त्यसका लागि पहिलो शर्त भनेको भीडभाड रोक्नु, भौतिक दूरी कायम गराउनु र स्वास्थ्यमापदण्ड पूर्णरुपमा लागू गराउनु नै हो ।
क्याटेगोरी : समाचार
ट्याग : #भिडभाड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्