सङ्खुवासभामा आइसोलेसन वार्ड तोडफोड, क्याम्पस प्रमुख पक्राउ
घटनामा संलग्न अन्यको पनि खोजी जारी
जिल्लाको हिमालय किरण पब्लिक क्याम्पसमा स्थापना गरिएको आइसोलेसन वार्डमा तोडफोड भएको छ । जिल्लाका तीन जना सङ्क्रमितलाई राखिने भएपछि शुक्रबार राति आइसोलेसन वार्डमा तोडफोड गरिएको हो ।

कोरोना सङ्क्रमितहरूलाई राख्नको लागि सम्पूर्ण मापदण्डसहितको आइसोलेसन कक्षको साँचो काटेर भित्र प्रवेश गरी तोडफोड गरिएको खाँदबारी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सुन्दर श्याम झाले जानकारी दिनुभयो ।
आइसोलेसन कक्षका अत्यावश्यक सामग्रीहरू चोरि भएकोसमेत निमित्त मेसु झाले जानकारी दिनुभयो । झाका अनुसार आइसोलेसनका करिब १५ लाख बराबरको सामग्री चोरी भएको हो । अज्ञात समूहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० थान पीपीई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाईडरलगायत सामग्री चोरी भएको अस्पतालका मेसु झाले जानकारी दिनुभयो ।

आइसोलेसन वार्डमा तोडफोड भएपछि क्याम्पस प्रमुख डाक्टर मात्रिकाप्रसाद तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । तोडफोड हुनुमा क्याम्पस प्रमुखको चलखेल हुनसक्ने भन्दै अनुसन्धानका लागि डाक्टर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । डाक्टर तिम्सिनाको घटनाअघिका केही अभिव्यक्तिका कारण उहाँलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको निरीक्षक राईले स्पष्ट पार्नुभयो । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको राईको भनाइ छ ।
सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवा खोलामा बनाइएको क्वारेन्टाइनमा रहेका धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र अर्को २२ वर्षीय एक पुरुषमा समेत कोरोना पोजिटिभ देखिएको हाे । उनीहरूलाई बिहीबार क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा ल्याउने भएपछि स्थानीयले विरोध गर्दै आएका थिए ।
क्याम्पसको आइसोलेसनमा तोडफोड गरिए पनि सोही ठाउँमा पुनःमर्मत गरेर कोरोना सङ्क्रमितहरूको उपचार भइरहेको खाँदबारी अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिनुभयो । तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर तीन जनाको उपचार भइरहेको उहाँको भनाइ छ । कोरोना पुष्टि भएको चौथो दिनमा उनीहरूलाई आइसोलेसनमा ल्याइएको हो ।
#गोरखापत्र #दैनिकबाट #साभार
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्