चिनियाँ संस्थाद्वारा मास्कलगायत स्वास्थ्य सामग्री सहयोग
चिनियाँ बुद्धिष्ट एसोसिएसनअन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरुको संस्थाले नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नेपाल सरकारले जारी राखेको कोरोना महामारी नियन्त्रणको प्रयासमा सघाउने उद्देश्यले ती संस्थाहरुका तर्फबाट १३ लाख ३७ हजार थान मास्कलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय भए बमोजिमको एक लट सामग्री बिहीबार नेपाल ट्रान्स हिमालयन सोसाइटीलाई उपलब्ध गराइएको हो ।
चीनको बुद्धिस्ट एसोसिएसनका अन्तर्राष्ट्रिय सदस्य तथा लुम्बिनीमा रहेको चिनियाँ बौद्धगुम्बाका निर्देशक सि चोङयोङले आज ती सामग्री नेपाल ट्रान्स हिमालयन सोसाइटीका अध्यक्ष प्रा डा राजिवकुमार झालाई हस्तान्तरण गर्नुभयो । लुम्बिनीमा रहेको चिनियाँ बौद्ध गुम्बाका निर्देशक तथा मास्टर सि चोङयोङ, चान ओ र चिनियाँ बौद्धगुम्बाका स्वयंसेवीहरुबाट नेपालका १०० भन्दाबढी बौद्ध गुम्बा, विभिन्न ३० बौद्ध विद्यालय र एक हजार ५०० बौद्धभिक्षुलाई मास्क र अन्य आवश्यक स्वास्थ्य सामग्री यसअघि नै वितरण गरिएको पनि सो संस्थाले जनाएको छ ।
नेपाललाई उपलब्ध गराउने घोषणा गरिएका १३ लाख ३७ हजार मास्क तथा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रमअन्तर्गत अहिलेसम्म नेपालमा सात लाख ७७ हजार थान आएको र ती सामग्री केही प्रदेश तथा स्थानीय सरकारका साथै नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरुलाई उपलब्ध गराइएको निर्देशक योङले बताउनुभयो । यसका साथै चीनका बौद्धगुम्बाहरुको संस्थाहरुका तर्फबाट लुम्बिनी विकास कोषलाई एकमुस्टरूपमा छ लाख २० हजार सर्जिकललगायतका मास्क उपलब्ध गराइएको थियो ।
लुम्बिनीमा पहिलो सङ्क्रमित भेटिएपछि तत्कालै उक्त संस्थाले ती व्यक्ति तथा गाउँका अरु निम्न आय भएका परिवारका सदस्यका लागि आवश्यक खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । चिनियाँ बुद्धिस्ट एसोसिएसनको समन्वयमा बौद्धधर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाहरुले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तर रहने जानकरी निर्देशक योङले बताउनुभयो ।
नेपालमा विसं २०७२ मा गएको भूकम्पपछि बौद्ध स्तूपलगायतको पुनर्निर्माण तथा सहयोगस्वरुप चिनियाँ बुद्धिस्ट एसोसिएसन र चिनियाँ बौद्धगुम्बाहरुको संस्थाका तर्फबाट रु एक अर्ब १५ करोडभन्दा बढी आर्थिक सहयोग गरिएको जनाइएको थियो । निर्देशक योङले गएको डिसम्बरको अन्तिमतिर पहिलो पटक चीनको वुहानमा कोरोना महामारी देखिएको समयमा नेपालले चीन सरकारलाई मास्क सहयोग गरेपछि चिनियाँहरु निकै खुशी भएको स्मरण गर्दै हाल नेपाललाई यो महामारीबाट उम्किन चीनले सक्दो सहयोग गर्ने बताउनुभयो ।
नेपाल ट्रान्स हिमालयन सोसाइटीका अध्यक्ष प्रा डा झाले चीन सरकार तथा त्यहाँका नागरिक सङ्घसंस्थाहरुले नेपालमाा हाल महामारीबाट अप्ठेरो परेका बेला गरेको सहयोग अनुकरणीय रहेको धारणा राख्दै उपलब्ध सहयोगलाई अत्यावश्यकताका आधारमा नेपालका विभिन्न क्षेत्र र समुदायमा पुर्याइने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य सामग्री सहयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्