Techie IT
आईतबार, जेठ १०,२०८३

साङ्लामा अवैध प्लटिङ प्रकरण : २ रोपनीको अनुमति लिएर १९ रोपनीमा डोजर, ३० लाख जरिवाना


काठमाडौं । तारकेश्वर नगरपालिका–१ अन्तर्गत साविक साङ्ला गाविस वडा नं. ९(ज) क्षेत्रमा भएको अवैध प्लटिङ प्रकरणमा नगरपालिकाले ३० लाख रुपैयाँभन्दा बढी जरिवाना तिराउने निर्णय गरे पनि सम्बन्धित पक्षले रकम बुझाउन आनाकानी गरिरहेको पाइएको छ।

नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिका अनुसार तारकेश्वर–१ का एक जनप्रतिनिधिका श्रीमानको नाममा रहेको जग्गामा व्यक्तिगत प्रयोजनका लागि २ रोपनी क्षेत्रफलमा मात्रै डोजर प्रयोग गर्न अनुमति लिइएको थियो। तर अनुगमनका क्रममा करिब १९ रोपनीभन्दा बढी क्षेत्रमा अनधिकृत रूपमा डोजर चलाएर प्लटिङ गरिएको भेटिएको हो।

भूमि शाखाको च.नं. ३३८९, मिति २०८२ पुस २५ गतेको पत्रअनुसार दिलबहादुर मिजारको नाममा रहेको साविक साङ्ला गाविस वडा नं. ९(ज), हाल तारकेश्वर नगरपालिका–१ साङ्लास्थित कित्ता नं. ३०७ र ३८९ मा सीमित रूपमा जग्गा सम्याउन अनुमति दिइएको थियो। ती कित्तामा क्रमशः १–२–३–० र १–१४–०–० रोपनी क्षेत्रफलमा मात्र डोजर प्रयोग गर्न स्वीकृति प्रदान गरिएको थियो।

तर समितिको अनुगमन टोलीले उक्त अनुमतिको दुरुपयोग गर्दै अन्य निजी, सरकारी तथा पर्ति जग्गामा समेत डोजर प्रयोग गरिएको फेला पारेको जनाएको छ। समितिका अनुसार नुवाकोटको तादी गाउँपालिका–५ स्थायी घर भई हाल टोखा नगरपालिका–३ बस्ने ४६ वर्षीय उद्धवप्रसाद पाण्डे र सूर्यगढी गाउँपालिका–५ निवासी ४९ वर्षीय बैकुण्ठ पाठकले संयुक्त रूपमा बैना गरेका विभिन्न कित्ताहरूमा अनुमति बिना व्यापक रूपमा जग्गा सम्याउने तथा प्लटिङ गर्ने कार्य गरेका थिए।

नगरपालिकाका अनुसार कित्ता नं. ६४, ६८, ३०७, ३८८, २८४, ३८९, ५११, ५१०, ५०९, ५०८, ५०७ र ५१२ लगायत सार्वजनिक तथा पर्ति जग्गा रहेका कित्ता नं. २३ र ६९ सम्ममा समेत डोजर चलाइएको थियो।

 

मालपोत कार्यालय, नापी कार्यालय टोखा–सरस्वती तथा नगरपालिकाका अमिनहरूको प्रतिवेदनका आधारमा करिब १९–२–३–३ क्षेत्रफलमा अनुमति बिना डोजर प्रयोग भएको पुष्टि भएपछि उपभोक्ता हित संरक्षण समितिले ३० लाख रुपैयाँभन्दा बढी जरिवाना गर्ने निर्णय गरेको जनाएको छ।

अनुगमनका क्रममा प्लटिङकर्ताहरूले सरकारी जग्गामा रहेका रुखहरू समेत काटेर जग्गा सम्याएको पाइएको नगरपालिकाले जनाएको छ।

यस्तै, जग्गा सम्याउन अनुमति लिइए पनि प्लटिङ कार्यका लागि आवश्यक पर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणको स्वीकृति नलिइएको समेत खुलेको छ। नगरपालिकाले यस विषयमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।


क्याटेगोरी : स्थानीय
ट्याग : #३० लाख जरिवाना, #breaking, #साङ्लामा अवैध प्लटिङ प्रकरण : २ रोपनीको अनुमति लिएर १९ रोपनीमा डोजर


तपाईको कमेन्ट लेख्नुहोस्