Techie IT
आईतबार, फागुन ३,२०८२

टोखा-३ मा महिलालाई लक्षित क्यान्सर सचेतना कार्यक्रम सम्पन्न


नेवा: मिसा दबु टोखा नगर कमिटीको आयोजनामा टोखा नगरपालिका वडा नं. ३ मा स्तन तथा पाठेघर क्यान्सरसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ९० भन्दा बढी महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा क्यान्सर विशेषज्ञ डा. रक्षा श्रेष्ठले स्तन तथा पाठेघर क्यान्सर महिलामा बढी देखिने गम्भीर स्वास्थ्य समस्यामध्ये एक भएको उल्लेख गर्दै प्रारम्भिक अवस्थामा नै पहिचान गर्न सके उपचार सम्भव हुने बताइन् । उनले समयमै परीक्षण, नियमित स्वास्थ्य जाँच र सचेतनाले क्यान्सरबाट ज्यान जोगाउन सकिने स्पष्ट पारिन् ।

डा. श्रेष्ठका अनुसार स्तन र पाठेघर क्यान्सरका लक्षण ढिलो देखिने भएकाले लक्षण देखिनु अघि नै परीक्षण गराउने बानी विकास गर्नु आवश्यक रहेको छ ।

नेवा: मिसा दबु टोखा नगर कमिटीकी अध्यक्ष सुमिता महर्जनले महिलाहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस्ता सचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताइन् । उनले समुदायस्तरमै सचेतना फैलाउन सके क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने धारणा राखिन् ।

कार्यक्रमले सहभागी महिलाहरूलाई क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्दै स्वास्थ्यप्रति सचेत बन्न प्रेरित गरेको सहभागीहरूको भनाइ थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : ##braking news


तपाईको कमेन्ट लेख्नुहोस्