Techie IT
आईतबार, भदौ २१,२०८३

बर्दिबासमा ललित कला अन्तरक्रिया तथा चित्रकला कार्यशाला सफलतापूर्वक सम्पन्न


जीवनराज दाहाल, बर्दिवास ।
श्री जनता मा.वि. गौरीडाँडा, बर्दिबास–५ महोत्तरीको आयोजनामा, बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको संयोजन तथा नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषको सहकार्यमा आज मिति २०८२ मंसिर ९ गते, मङ्गलबार एक दिने ललित कला विशेष अन्तरक्रिया तथा चित्रकला कार्यशाला सम्पन्न भएको छ ।

कार्यक्रम वि.व्य.स अध्यक्ष राजन प्रसाद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका सुनिता मोक्तानले गरेकी थिइन् भने स्वागत मन्तव्य सहायक प्र.अ सरिता कार्कीले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमका संयोजक तथा बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलले ललित कलाको महत्त्व तथा यस कार्यशालाले विद्यार्थीमा सिर्जनशीलता अभिवृद्धिमा पुर्‍याउने योगदानबारे प्रकाश पारे । उनले सहकार्यकर्ता संस्था नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठान तथा आयोजक विद्यालयप्रति आभार व्यक्त गरे ।

त्यसैगरी प्रगतिशील लेखक संघ (प्रलेस) मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेले “जीवनमा कलाको भूमिका अत्यन्त आवश्यक छ” भन्दै अवसर प्रदान गर्ने संस्थाप्रति धन्यवाद व्यक्त गरे ।

सभाध्यक्ष राजन प्रसाद ढुङ्गानाले नेपाल ललित कला प्रतिष्ठानले अघिल्लो वर्ष गरेको वचनअनुसार यस वर्ष विद्यालयमा कार्यशाला आयोजना गरी सहयोग गरेकोमा खुशी व्यक्त गर्दै, आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका लोक तथा वस्तु कला विभाग प्रमुख प्रदिप अधिकारी, हस्तकला विभाग प्रमुख अरुणा हिमाङ, सदस्य सचिव देवेन्द्र थुम्केली, प्रलेस नेपालकी केन्द्रीय सदस्य विमला बिक, जनता बहुमुखी क्याम्पसका व्यवस्थापन समिति सदस्य हेमसागर वाग्ले, बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, कोषाध्यक्ष पवनकुमार वाग्ले, कमला साहित्य कला समाज धनुषाका अध्यक्ष गणेश तिमल्सिना, कोषाध्यक्ष गोविन्द खड्का, सिस्नुपानी नेपाल महोत्तरीका सुमन सारङ्गी र रामकृष्ण भण्डारी, प्रलेस महोत्तरीकी सदस्य प्रतिमा पौडेल, जनता साहित्यिक मञ्चका तल्लो तथा माथिल्लो सदनका प्रतिनिधि श्रेया कर्ण र दिलिसा कार्की सहित विभिन्न अतिथिहरूको उपस्थिति उल्लेखनीय थियो ।

अन्तरक्रिया सत्रमा सदस्य सचिव देवेन्द्र थुम्केलीले कलाको जीवनसँगको गहिरो सम्बन्ध, यसको विभिन्न आयाम तथा दैनिक जीवनमा कला कसरी प्रतिबिम्बित हुन्छ भन्नेबारे महत्वपूर्ण विचार राखे । विद्यार्थीले राखेका जिज्ञासाको उत्तर दिँदै उनले “दैनिक प्रयोग हुने हरेक वस्तुले चित्र बोक्दछ” भन्ने तथ्य पनि स्पष्ट पारे ।

कार्यशालामा सहभागी विद्यार्थीहरूलाई चित्रकला अभ्यासका लागि आवश्यक शैक्षिक सामग्री वितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।


क्याटेगोरी : banner, ब्रेकिंग न्युज, मनोरञ्जन/साहित्य, समाज


तपाईको कमेन्ट लेख्नुहोस्