ब्राइट फ्युचरको आयोजनामा नाटक ‘लौरो’
काठमाडौं । बिधार्थीको चौतर्फी विकासका लागि ललितपुर–१५, सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयले तीसवटा विषयगत तथा सिर्जनात्मक क्लबमार्फत विद्यार्थीलाई रुचि र क्षमताअनुसार प्रशिक्षण दिँदै आएको छ । विधालयले विद्यार्थीमा अन्तर्निहित प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गराउने उद्देश्यले अवाकस, फोनिक्स, हाजिरी जवाफ, हिज्जे÷स्पेलिङ, डान्स, म्युजिक, नाटक, आट्र्स, फुट्सल, बास्केटबल, टेबल टेनिस, चेस, ब्याडमिन्टन लगायत तीसवटा अलग–अलग क्लब गठन गरेको हो । विद्यार्थीलाई क्लबमार्फत नियमित प्रशिक्षण, अभ्यास तथा प्रतियोगितामा सहभागिताको अवसर प्रदान गरिँदै आएको विद्यालयले जनाएको छ ।
विधालयका प्रशासन प्रमुख रामरमण हुमागाईले क्लब गतिविधिका माध्यमबाट विद्यार्थीले पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर गएर सिर्जनशीलता, आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने अवसर भएको बताए । विभिन्न अन्तरविद्यालय तथा स्थानीयस्तरका प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट नतिजासमेत हासिल गर्दै आएका छन् ।
विद्यालयले विद्यार्थीको प्रतिभा र सिर्जनशीलतालाई मञ्च प्रदान गर्ने उद्देश्यले आगामी भाद्र २४ देखि २७ गतेसम्म काठमाडौंको एक (कुञ्ज) थिएटर, थापागाउँ, बानेश्वरमा विद्यार्थीहरूद्वारा अभिनीत ‘लौरो’ शीर्षक नाटक मञ्चन गर्ने भएको छ । नाटकले देशको वर्तमान अवस्थालाई दर्शाउनुका साथै युवाहरु विदेश पलायन हुदै गईरहेको अवस्था र गाउँमा युवाहरु रित्तिदै गएको कुरालाई उजागर गर्छ । नाटकमा गाउँमा युवाहरूको अभाव, बुढा बुवा आमाको एक्लोपन, पारिवारिक दुरी देखाईएको छ । नाटकमा संरक्षण मिश्र, रिमुन दाहाल, सुशना सञ्जेल, अग्रता अधिकारी, आरोग्य श्रेष्ठ, अभिमान श्रेष्ठ, अभिमन्यु भट्ट, रिसोना तास्नीम, उत्प्रेरणा पण्डित, रसिल बस्नेत, श्रेया सुनुवार, अंशु बस्नेत, सुशान्त घिमिरे, दृिशना बोहोराले अभिनय गरेका छन् भने मञ्च व्यवस्थापन प्रसिज घिमिरेले, प्रप्स व्यवस्थापन रेश्मी राईले, प्रकाश परिकल्पना प्रकाश दाहालले गरेका छन् । त्यस्तै निर्देशन सहायकको भूमिका रुबिन सुनारको रहेको छ । अनि नाटकको लेखन तथा निर्देशन पुष्पराज अवस्थीको रहेको छ ।
निर्देशक अवस्थी सम्झनछन्, एकपटक एयरपोर्टमा एउटा सानो बालक आफ्नो आमा विदेश जानेबेलामा अंगालो हाल्दै रोईरहेको दृश्य सामाजिक सञ्जालमा देखेँ जसले देशको वर्तमान अवस्थालाई बुझाउँथ्यो । धेरै दिनसम्म यो दृश्यले मानसपटलमा हानिरह्यो । आफू पनि सपना पूरा गर्न बुवा आमालाई गाउँमै एक्लै छोडेर शहर आएको कुरा सम्झेँ । उहाँहरुलाई घरमै बसेर नाति खेलाउने रहर भएको कुरा सम्झेँ । एउटै देशमा भएपनि दुरीका हिसाबले बुवा आमाको लागि म परदेशमा नै छु जस्तो लाग्छ । उहाँहरुलाई दुख पर्दा, गार्हो पर्दा उहाँहरुसँग छैन । उहाँहरुलाई छोरा र बुहारीसँगै बस्न मन छ, नातिसँग आफू पनि बच्चा भएर खेल्न रहर छ होला तर अहिले यो ठिक विपरित छ । यही अवस्थालाई मैले बुवा आमाको दृष्टिकोणको विश्लेषण गरे, जुन सम्झदाँ पनि गार्हो भयो । उहाँहरुको भावनालाई बुझेर उहाँहरुकै दृष्टिकोणबाट यो परिस्थितिलाई लिएर एउटा नाटक लेख्न मन लाग्यो र नाटक लेखेँ । यसरी आफ्नै बुवा आमाको भावनालाई अभिव्यक्त गर्न नाटक लौरोको परिकल्पना भयो । नाटक मेरो परिवार मात्रै नभएर धेरैको पारिवारिक कथा हो जस्तो लाग्छ ।
विद्यालयका विद्यार्थीहरूले आफ्नै अभ्यास, सिर्जना र प्रस्तुतिमार्फत तयार पारेको नाटकलाई व्यावसायिक रङ्गमञ्चमा प्रस्तुत गर्न लागिएको हुमागाईको भनाई थियो । उहाँका अनुसार नाटक मञ्चनले विद्यार्थीलाई अभिनयको सीप मात्र नभई संवादकला, अभिव्यक्ति क्षमता, समूहमा काम गर्ने संस्कार, समय व्यवस्थापन र आत्मविश्वास विकास गर्ने महŒवपूर्ण अवसर प्रदान गर्नेछ ।
विद्यालयका प्रधानाध्यापक वासुदेव कोइरालाले विद्यार्थीको शिक्षा केवल कक्षाकोठा र परीक्षाको नतिजामा सीमित हुन नहुने बताए । “हरेक बालबालिकाभित्र कुनै न कुनै प्रतिभा हुन्छ । विद्यालयको दायित्व त्यो प्रतिभा पहिचान गर्ने, अवसर दिने र उत्कृष्टतामा पु¥याउने हो,” उनले भने । उनका अनुसार विद्यालयले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको खेलकुद, कला, सङ्गीत, नृत्य, नाटक, भाषा, तर्क तथा सिर्जनात्मक क्षमताको विकासलाई समान प्राथमिकता दिएको छ । “हामी हरेक विद्यार्थीलाई उसको रुचिको क्षेत्रमा अगाडि बढ्ने वातावरण निर्माण गर्न चाहन्छौँ,” उनले बताए ।
ब्राइट फ्युचरले क्लब गतिविधिलाई विद्यालयको अतिरिक्त क्रियाकलापका रूपमा मात्र नभई विद्यार्थीको व्यक्तित्व विकास र भविष्य निर्माणको महŒवपूर्ण आधारका रूपमा अघि बढाएको छ । नाटक मञ्चन पनि यही अभियानको एउटा महत्वपूर्ण कडी हो । विद्यार्थीले विद्यालयभित्र सिकेको सीपलाई वास्तविक रङ्गमञ्चमा प्रस्तुत गर्दै दर्शकमाझ आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन् । नाटक २०८३ भाद्र २४ गतेदेखि २७ गतेसम्म दैनिक बिहान ७ः३० बजे, ११ बजे र १ बजे गरी ३ सो हुने छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्