भोटेकोशीको भेलमा बग्यो ९ अर्ब ४९ करोडको धितो, बैंकिङ क्षेत्रमा संकट
काठमाडौं । बाढीपहिरोका कारण बैंक तथा वित्तीय संस्थाको धितो र ऋणीमा परेको प्रभावबारे नेपाल राष्ट्र बैंकले तथ्याङ्क संकलन गरिरहेको छ। राष्ट्र बैंककी सहप्रवक्ता सुधा श्रेष्ठका अनुसार तथ्याङ्क संकलन प्रारम्भिक चरणमा रहेको छ र प्रभावित क्षेत्रबाट प्राप्त विवरण दैनिक रूपमा अद्यावधिक भइरहेका छन्।
नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष एवं ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले पछिल्लो बाढीपहिरो तथा प्राकृतिक विपत्तिका कारण नेपालको बैंकिङ क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको बताउनुभयो। उहाँका अनुसार हालसम्मको प्रारम्भिक तथ्याङ्कले बैंकिङ क्षेत्रको करिब १८ देखि १९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष नोक्सानी देखाएको छ।
विशेषगरी टिमुरे, तातोपानी र त्रिशूलीलगायत बाढी प्रभावित क्षेत्रमा ऋणीले धितोका रूपमा राखेका घर, जग्गा तथा सवारीसाधनमा ठूलो क्षति पुगेको छ। यसले बैंकको कर्जा असुली तथा जोखिम व्यवस्थापनमा समेत चुनौती थपिएको छ।
नेपाल बैंकर्स एसोसिएसनको प्रारम्भिक तथ्याङ्कअनुसार भोटेकोशीको बाढीका कारण १२ वटा बैंकका १७ शाखामा करिब ५६ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। प्रभावित कर्जा तथा जलविद्युत् आयोजनामा रहेको ऋणसमेत जोड्दा बैंकिङ क्षेत्रको प्रारम्भिक वित्तीय एक्सपोजर नौ अर्ब ४९ करोड रुपैयाँसम्म पुगेको छ।
बाढी प्रभावित शाखाहरूमा चार अर्ब ४३ करोड रुपैयाँ निक्षेप र दुई अर्ब ४२ करोड ८१ लाख रुपैयाँ कर्जा रहेको प्रारम्भिक विवरण छ। त्यस्तै, प्रभावित चार जलविद्युत् आयोजनामा मात्रै करिब छ अर्ब ५० करोड रुपैयाँ बराबरको बैंक ऋण जोखिममा परेको बताइएको छ।
संकटमा धितो
बाढीपहिरोले घर, उद्योग तथा व्यवसायमा मात्रै क्षति पुर्याएको छैन, बैंक तथा वित्तीय संस्थाले कर्जाको सुरक्षणका रूपमा राखेको धितोको अस्तित्वसमेत संकटमा पारेको छ। ऋणीको आम्दानीको स्रोत नष्ट हुनु, धितोको मूल्य घट्नु वा पूर्ण रूपमा समाप्त हुनु तथा बिमाबाट समेत सम्पूर्ण क्षति पूर्ति नहुने अवस्थाले बैंकिङ क्षेत्रमा नयाँ जोखिम सिर्जना गरेको छ।
बैंकिङ विज्ञ अनलराज भट्टराईका अनुसार सबैभन्दा सुरक्षित धितो मानिने घरजग्गा नै बाढीले बगाएपछि परम्परागत जोखिम व्यवस्थापन प्रणालीमा चुनौती थपिएको छ। ऋणीको व्यवसायसँगै धितो राखिएको जग्गासमेत बगरमा परिणत भएपछि कागजमा रहेको सम्पत्तिको वास्तविक मूल्य कसरी निर्धारण गर्ने र त्यसबाट कर्जा कसरी असुल गर्ने भन्ने समस्या उत्पन्न भएको उहाँको भनाइ छ।
सामान्यतया बैंकले ऋणीको सम्पत्ति धितो राखेर त्यसको मूल्याङ्कनका आधारमा कर्जा सीमा निर्धारण गर्छ। यस्तो अवस्थामा धितो बैंकको जोखिम व्यवस्थापनको प्रमुख आधार हुन्छ। तर प्राकृतिक विपत्तिका कारण धितो नै नष्ट भएपछि कर्जा सुरक्षणको परम्परागत आधार कमजोर बन्न पुगेको विज्ञहरू बताउँछन्।
सबै जोखिम बिमाले धान्दैन
प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणमा बिमा महत्वपूर्ण माध्यम भए पनि नेपालमा धितोको सम्पूर्ण मूल्य बराबर बिमा गर्नेभन्दा बैंकले प्रवाह गरेको कर्जाको रकमलाई आधार बनाएर बिमा गर्ने अभ्यास बढी देखिन्छ।
विज्ञ भट्टराईका अनुसार एक करोड रुपैयाँ मूल्यको घरमा ५० लाख रुपैयाँ बैंक ऋण रहेको अवस्थामा बैंकको हित सुरक्षित गर्न ५० लाख रुपैयाँ बराबरको मात्रै बिमा गरिएको हुन सक्छ। त्यस्तो घर पूर्ण रूपमा नष्ट भएमा बिमाबाट प्राप्त रकमले बैंकको कर्जा जोखिम केही हदसम्म सम्बोधन गरे पनि ऋणीको वास्तविक सम्पत्तिगत क्षति भने बिमाको रकमभन्दा धेरै हुन सक्छ।
डिजिटल डाटा सुरक्षित, भौतिक कागजातमा चुनौती
बाढीका कारण बैंकका शाखा कार्यालयमा भौतिक क्षति भए पनि डिजिटल पूर्वाधारणका कारण ग्राहकको निक्षेप तथा कर्जासम्बन्धी विवरण सुरक्षित रहने सम्भावना उच्च रहेको बैंकिङ क्षेत्रले जनाएको छ।
बैंकहरूले रियल टाइम प्रोसेसिङ प्रणालीका साथै केन्द्रीय कार्यालय तथा अन्य स्थानमा डाटा ब्याकअप राख्ने भएकाले ग्राहकको खाता, निक्षेप र कर्जासम्बन्धी डिजिटल अभिलेख पुनः प्राप्त गर्न सकिने अवस्था छ।
तर भौतिक कागजात र सम्पत्तिको संरक्षणमा भने चुनौती देखिएको छ। सक्कल लालपुर्जा, धितोसँग सम्बन्धित कागजात, सुनचाँदी तथा अन्य महत्वपूर्ण सम्पत्ति शाखा कार्यालयसँगै बगे वा क्षतिग्रस्त भएमा तिनको पुनः प्रमाणीकरण तथा व्यवस्थापन जटिल बन्न सक्ने बैंकिङ क्षेत्रले जनाएको छ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #बैंकिङ क्षेत्रमा संकट, #भोटेकोशीको भेलमा बग्यो ९ अर्ब ४९ करोडको धितो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्