चेम्बर अध्यक्ष र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता
काठमाडौं, २८ असोज । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सोकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
बुधबार चेम्बर भवनमा भएको भेटमा पूर्वाधार विकास, खानी तथा खनिज, ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटनलगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो।
सो अवसरमा चेम्बर अध्यक्ष अग्रवालले नेपाल र दक्षिण अफ्रिकाबीच आर्थिक सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, बजार पहिचान तथा संयुक्त लगानीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
उहाँले नेपाली पश्मिना, चिया, कफी, मसला तथा हस्तकलाका सामग्री दक्षिण अफ्रिकी बजारमा प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै कृषि प्रशोधन, नवीकरणीय ऊर्जा र पर्यटन क्षेत्रमा पनि सहकार्यको पर्याप्त सम्भावना रहेको बताउनुभयो। उत्पादनको गुणस्तर, प्राविधिक मापदण्ड, भन्सार शुल्क तथा ढुवानी खर्चसम्बन्धी जानकारी आदानप्रदान गर्न सके व्यापार विस्तारमा सहयोग पुग्ने उहाँको भनाइ थियो।
अध्यक्ष अग्रवालले नेपालका उच्च मूल्यका कृषि उत्पादनलाई दक्षिण अफ्रिकाको सिँचाइ, शीतभण्डारण तथा कृषि प्रशोधनसम्बन्धी अनुभवसँग जोड्न सकिने बताउनुभयो। कृषि उत्पादनको प्रशोधन, प्याकेजिङ, भण्डारण र बजार व्यवस्थापनमा संयुक्त परियोजना सञ्चालन गर्न सके निर्यात प्रवर्द्धन र रोजगारी सिर्जनामा समेत योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो।
त्यसैगरी, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, विद्युत् प्रसारण सञ्जाल तथा जलवायु अनुकूल पूर्वाधार विकासमा सहकार्यका अवसर पहिचान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। नेपालको हिमाली तथा सांस्कृतिक पर्यटनलाई दक्षिण अफ्रिकाको वन्यजन्तु तथा सफारी पर्यटनसँग जोडेर संयुक्त पर्यटन प्याकेज विकास गर्न सकिने सम्भावना पनि उहाँले औँल्याउनुभयो।
अध्यक्ष अग्रवालले नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापारिक सम्बन्धलाई परिणाममुखी बनाउन चेम्बर, कूटनीतिक नियोग तथा सम्बन्धित सरकारी निकायबीच नियमित संवाद आवश्यक रहेको बताउनुभयो। दुवै देशका निजी क्षेत्रका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमूह गठन, प्राथमिकताका वस्तु तथा सेवाको सूची निर्माण र सम्भावित लगानी परियोजनाको पहिचानमार्फत सहकार्य अघि बढाउन सकिने उहाँले उल्लेख गर्नुभयो।
दक्षिण अफ्रिकाका राजदूत प्रा. अनिल सोकलालले नेपालसँग निजी क्षेत्रको सहकार्यलाई व्यावहारिक रूपमा अघि बढाउन सकिने सम्भावित क्षेत्रबारे चर्चा गर्दै पूर्वाधार विकास र खानी तथा खनिज क्षेत्रलाई प्राथमिकतामा राख्न सकिने बताउनुभयो।
राजदूत सोकलालले दक्षिण अफ्रिकी कम्पनीहरूले मध्यपूर्वलगायत विभिन्न अन्तर्राष्ट्रिय बजारमा पूर्वाधार निर्माण तथा विकासका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै उनीहरूको अनुभव नेपालका पूर्वाधार आयोजनामा उपयोगी हुन सक्ने बताउनुभयो।
त्यसैगरी, खानी तथा खनिज अन्वेषणमा दक्षिण अफ्रिकासँग लामो अनुभव र प्राविधिक दक्षता रहेको उल्लेख गर्दै नेपालमा उपलब्ध खनिज स्रोतको पहिचान, सम्भाव्यता अध्ययन तथा विकासमा सहकार्य गर्न सकिने उहाँले बताउनुभयो।
राजदूत सोकलालले भारत र दक्षिण अफ्रिकाबीच निजी क्षेत्रको व्यापारिक सहकार्य पुनः सक्रिय बनाउने क्रममा विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेटेर सहकार्यका क्षेत्र पहिचान गर्ने पहल भइरहेको जानकारी दिनुभयो। उक्त अनुभवले नेपालसँगको व्यावसायिक सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो।
व्यापार विस्तारका क्रममा ढुवानी तथा पारवहन, भिसा प्रक्रिया, गुणस्तर मापदण्ड र लगानी स्वीकृतिसम्बन्धी अवरोध समाधान गर्न द्विपक्षीय समन्वय प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइएको थियो।
कार्यक्रममा दक्षिण अफ्रिकाका लागि नेपालका मानार्थ वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राको उपस्थिति रहेको थियो।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्