नेकपाको दमनविरुद्ध दुई वडाध्यक्षद्धारा राजिनामा
स्थानीय चुनावबाट विजयी भई जनप्रतिनिधिको रुपमा स्थानीय तहमा जिम्मेवारी सम्हाल्दै आइरहेका दुई जना वडाध्यक्षले नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा राजीनामा दिएका छन् ।
संघ, प्रदेश र स्थानीय चुनावलाई खारेजी घोषणा गरेर सशक्त आन्दोलन संचालन गरेदेखि नै राजनीतिक आन्दोलनमा रहेको नेकपाले चुनाव सकेलगत्तै चुनावमा विजयी जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै आइरहेको छ । चुनावले केन्द्रमा रहेको भ्रष्टाचार र कमिसनखोरलाई गाउँटोलसम्म पुर्याउने र दलाल संसदीय व्यवस्था सुदृढ हुने बताउँदै त्यसलाई रोक्न चुनाव बिथोल्ने र विजयी उम्मेदवारलाई तत्काल राजीनामा दिन उर्दी जारी गर्ने घोषणा गरिएको थियो । चुनावकै बेला पनि उम्मेद्वारहरुलाई उम्मेद्वारी फिर्ता लिन अाग्रह गरिएको थियो । धेरैले फिर्ता समेत लिएका थिए ।
नेकपा भदौ १ गतेदेखि चार महिने संगठन विस्तार तथा सुदृढ अभियानमा होमिएको अवस्था छ । यसको प्रभाव देशैभर तल्लो तहसम्म परेको र संगठन निर्माण तथा विस्तार र जनप्रतिनिधिलाई राजीनामा दिने वातावरण निर्माण गर्ने कार्यक्रम चलिरहेको छ ।
यस्तैबिचमा शनिबार कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नम्बर ६ र ७ का वडा अध्यक्षले स्थानीय तहमा सिंहदरबारको भ्रष्ट र कमिसनखोरले स्थान ओगटेको भन्दै विरोधस्वरुप राजीनामा दिएका छन् । यसरी राजीनामा दिनेमा वडा नं. ६ का तुलराज विक ‘दैलेखी’ र वडा नं. ७ का दलबहादुर विक ‘प्रकाश’ रहेका छन् । उनीहरुले राजीनामा दिनुको पछाडि कारणहरुमा गाउँमा ठूला साना पदका सबै जनप्रतिनिधिहरु भ्रष्टचार र कमिसनमा डुबेको र यसबाट समाजलाई अँध्यारो सुरुंगतर्फ धकेल्ने काम भएको बताएका छन् ।
पूर्ववडाध्यक्ष विकद्वयले केन्द्रदेखि प्रदेश सरकार जनताको एजेण्डा र क्रान्तिकारी आन्दोलनका साथै तिनका नेताकार्यकर्तामाथि फासिष्ट तरिकाले चरम दमनमा उत्रेकोले नैतिकताका आधारमा राजीनामा दिन बाध्य भएको प्रष्टिकरण दिएका छन् । खुल्ला रुपमा राजनीतिक दल खोल्न पाउने, विचार र अभिव्यक्ति, कार्यक्रम जनतामाझ् लैजान पाउने अधिकार संविधानले नै दिएकोमा सरकारले त्यसविपरीत दमन र गिरफ्तार जस्ता गैरकानूनी रवैया कायम राखेको उनीहरुको धारणा छ ।
‘सिंहदरबार गाउँगाउँमा आएको नक्कली रहेछ, यो व्यवस्था विकास खर्चमै चर्को कमिशन, भ्रष्टचार र पैसा खाएर कर्मचारी भर्ना गर्ने रहेछ’ राजीनामा दिएपछि दलबहादुरले भने ‘जनताबाट चर्को कर उठाएर गोजीमा हाल्ने काममा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लागेपछि हाम्रो विरोधका आवाज काम लागेन र यो कडा कदम चाल्न पर्यो ।’ उनीहरुले नेकपामाथि राज्यले जारी राखेको गैरकानूनी रुपमा दमन र हस्तक्षेप गरेकोप्रति समेत असहमति जनाए । तिनका नेता र कार्यकर्तालाई खुला रुपमा राजनीति अभियानमा भाग लिन दिनुपर्ने बताए ।
नेकपाले गरेको जनप्रतिनिधिको राजीनामाको आह्वानपछि यता राजीनामा दिएर विकद्वयले पहिलो रेकर्ड बनाएका छन् । राजीनामाको लहर अबका दिनमा देशैभर चल्ने विश्वास नेकपाका नेताहरुले गरेका छन् । साथै उसले राजीनामा दिएर राष्टियता र जनताको पक्षमा र जनघाती, भ्रष्टचारीविरुद्ध आफूलाई उभ्याउन पनि सम्पूर्ण जनप्रतिनिधिहरुलाई आह्वान गरेको छ ।
यो राजीनामा घटनालाई नेकपाको राजनीतिक प्रभावकाे रुपमा राजनीतिक वृत्तमा हेरिएको छ । नेकपाले लिएको वर्तमान दलाल संसदीय व्यवस्थाको साटो वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यलाई नजिक ल्याउन मद्दत पुर्याउने विश्वास राजनीतिक विश्लेषकहरुले गरेका छन् । राजीनामाको घटना भएको क्षेत्र नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को क्षेत्र हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #वडाध्यक्षद्धारा राजिनामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्