युरोपबाट रोजगारी र उद्यमलाई केन्द्रमा राख्दै जितेन्द्र विक्रमशाहीको उम्मेदवारी घोषणा
ओस्लो, नर्वे (असोज १३) — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्य पदका लागि जितेन्द्र विक्रम शाहीले उम्मेदवारी दिने घोषणा गरेका छन्। लामो समयदेखि प्रवासमा रहेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शाहीले पहिलोपटक आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
उनले नर्वेमा तीन कार्यकाल नेपाली जनसम्पर्क समितिको सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्। लामो समयदेखि नर्वेमा बसोबास गर्दै आएका शाही राजनीतिबाहेक व्यापार, व्यवसाय र समाजसेवामा पनि उत्तिकै सक्रिय छन्। आफ्नो उम्मेदवारी घोषणासँगै शाहीले “अबको कांग्रेस: उत्पादन, रोजगारी र समृद्धिको कांग्रेस” भन्ने अवधारणा अघि सारेका छन्।
शाही नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन्। नेपालमा छँदा उनले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत कर्मचारी संघको नेतृत्व गरेका थिए। डोटी जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि उनको नाम यसअघि पनि सिफारिस भएको थियो। पछिल्लो समय उनी व्यापार, व्यवसाय र राजनीतिसँगै अनुसन्धान एवं सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।
नेपाली जनसम्पर्क समिति नर्वेका उपाध्यक्ष रमेश घिमिरेका अनुसार जितेन्द्र विक्रम शाही नर्वे एवं युरोपमा दुःख पाएका नेपालीको सेवामा अहोरात्र खट्ने गर्छन्। कोरोना महामारी (कोभिड-१९) को बेला उनले जोखिम मोलेर नेपालीहरूको सेवामा महत्त्वपूर्ण योगदान दिएका थिए, जसका कारण उनी नेपाली समुदायमा निकै लोकप्रिय छन्।
शाहीले नेपाली कांग्रेसलाई उत्पादनसँग जोड्नुपर्ने धारणा अघि सारेका छन्। उनी भन्छन्, “पार्टीलाई चलायमान बनाउने हो भने अब हामीले नेपाली कांग्रेसलाई राजनीतिक गतिविधिमा मात्र सीमित राख्नु हुँदैन। उत्पादन, रोजगारी, उद्यम र जनताको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोड्नुपर्छ।” शाहीले कृषि क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउँदै उत्पादनसँगै प्रविधि, सिँचाइ, भण्डारण, प्रशोधन, बजार र उचित मूल्यको व्यवस्था गर्नुपर्ने बताएका छन्। युवालाई आधुनिक कृषि, कृषि उद्यम र प्रविधिसँग जोडेर रोजगारी सिर्जना गर्नुपर्ने उनको प्रस्ताव छ।
कृषि र पर्यटन विकासबाट देशको अर्थतन्त्र चलायमान बनाउन सकिने बताउँदै उनले भने, “हिमाल, पहाड, नदी, वन्यजन्तु र जैविक विविधतासँगै नेपालका मौलिक संस्कृति, भाषा, कला, लोकगीत, लोकनृत्य, पर्व र परम्परालाई पर्यटनसँग जोडेर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने हो भने अबको नयाँ पुस्तालाई स्वदेशमै रोक्न सकिन्छ।”
साथै उनले प्रवासी नेपालीलाई आर्थिक रूपान्तरणको साझेदार बनाउने प्रस्ताव पनि अगाडि सारेका छन्। शाहीको अपिलमा विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी, प्रविधि र अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको आर्थिक विकाससँग जोड्ने विषयलाई प्राथमिकता दिइएको छ।
युरोपलगायत विभिन्न देशमा रहेका नेपालीलाई केवल रेमिट्यान्स पठाउने स्रोतका रूपमा मात्र नहेरी कृषि, पर्यटन, प्रविधि, उद्योग तथा उद्यममा लगानी र ज्ञान हस्तान्तरण गर्ने साझेदारका रूपमा हेर्नुपर्ने उनको भनाइ छ। नर्वेमा जनसम्पर्क समितिको नेतृत्व गर्दा उनले संस्थागत सुदृढीकरण, पारदर्शिता र सहकार्यलाई प्राथमिकता दिएका थिए।
शाहीले राजनीति जनताको जीवनसँग जोडिनुपर्नेमा जोड दिएका छन्। राजनीतिलाई गाँस, बास, कपासका साथै स्वास्थ्य, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। राजनीति जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने माध्यम बन्नुपर्नेमा जोड दिँदै उनले भने, “कांग्रेसलाई उत्पादनमुखी, रोजगारमुखी, उद्यमशील, प्रकृति संरक्षणमुखी, संस्कृति प्रवर्द्धनमुखी र युवामैत्री सङ्गठनका रूपमा अघि बढाउनुपर्छ।”
उनले आफ्नो पार्टीलाई प्रवासमा रहेका नेपालीहरूको अनुभव, सीप र पुँजीलाई स्वदेशको उत्पादन तथा रोजगारीसँग जोड्दै कांग्रेसको राजनीतिक एजेण्डा अगाडि बढाउनुपर्ने सुझाव दिएका छन्। शाहीले भनेका छन्, “यो उम्मेदवारी केवल एउटा पदका लागि होइन, कांग्रेसको राजनीतिक सोचलाई उत्पादन, रोजगारी, उद्यम, प्रकृति, संस्कृति र आर्थिक समृद्धिसँग अझ गहिरो रूपमा जोड्ने एउटा विचारका लागि हो।”
यसरी नर्वेमा लामो समयदेखि सङ्गठन र व्यवसायसँग जोडिएका शाहीले १५औँ महाधिवेशनमा प्रवासबाट केन्द्रीय सदस्यको उम्मेदवारीसँगै कांग्रेसको आगामी राजनीतिक दिशाबारे आफ्नो आर्थिक तथा सङ्गठनात्मक दृष्टिकोण अघि सारेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #युरोपबाट रोजगारी र उद्यमलाई केन्द्रमा राख्दै जितेन्द्र विक्रमशाहीको उम्मेदवारी घोषणा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्