Techie IT
शनिबार, असोज १०,२०८३

मोहनकृष्ण अधिकारीको संयोजनमा थाइल्यान्डमा नेपाली जडीबुटी व्यवसायीको बीटुबी बैठक


काठमाडौं । नेपाली जडीबुटी तथा आयुर्वेदजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार तथा व्यवसायिक सहकार्यका लागि थाइल्यान्डमा नेपाली जडीबुटी व्यवसायी र उद्यमीहरूको बीटुबी बैठक तथा व्यवसायिक छलफल कार्यक्रम सम्पन्न भएको छ।

ओपनखबर मिडिया प्रा।लि।का सञ्चालक मोहनकृष्ण अधिकारीको मुख्य संयोजनमा गत असोज २ गते थाइल्यान्डमा आयोजित कार्यक्रममा नेपालका विभिन्न जडीबुटी तथा आयुर्वेद व्यवसायमा संलग्न व्यवसायी, उद्यमी तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालमा उत्पादित मौलिक जडीबुटी, आयुर्वेदिक औषधि, सुगन्धित तेल, कस्मेटिक, हर्बल तथा अन्य प्राकृतिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने विषयमा छलफल गरिएको थियो। नेपाली व्यवसायी तथा थाइल्यान्डमा रहेका व्यवसायीबीच व्यापारिक सहकार्य, बजार विस्तार, उत्पादनको बजारीकरण, आयात–निर्यात तथा लगानीका सम्भावनाबारे समेत छलफल भएको थियो।

जडीबुटी व्यवसायी संघ नेपालका अध्यक्ष विष्णु भण्डारीका अनुसार नेपाली व्यवसायीहरूले हिमाली तथा पहाडी क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, प्याकेजिङ तथा स्वदेश तथा विदेशमा बिक्री–वितरण गर्दै आएका छन्। यार्सागुम्बा, गुच्ची च्याउ, रातो च्याउ, टिमुर, अलैंची, चिराइतो, कुट्की, सतुवा, जटामसी, निरमसी, वन लसुनलगायतका जडीबुटी तथा तिनबाट उत्पादित सुगन्धित तेल र आयुर्वेदिक सामग्रीलाई विदेशी बजारमा विस्तार गर्ने उद्देश्य रहेको उनले बताए।

कार्यक्रममा सहभागी व्यवसायीहरूले नेपालका विभिन्न हिमाली तथा पहाडी क्षेत्रबाट संकलित जडीबुटी तथा प्राकृतिक कच्चा पदार्थलाई प्रशोधन र प्याकेजिङ गरी नेपालसहित भारत, चीन, थाइल्यान्ड, अमेरिका, युरोप तथा जापानलगायतका बजारमा पुर्‍याउँदै आएको जानकारी गराएका थिए।

बैठकमा न्यू भण्डारी ट्रेडर्सका विष्णु भण्डारी, महालक्ष्मी आयुर्वेदिक औषधि उद्योग प्रा।लि।का अजय धौब्डेल, श्री कन्हैया स्टोरका नवराज शर्मा, सेती देवी इन्टरप्राइजेज सप्लायर्सका विक्रम कुँवर, गोपाल केन्सी स्टोर एन्ड सप्लायर्सका गोपाल चौलागाईं, कर्णाली अर्गानिक जडीबुटी सप्लायर्सका गोविन्द गिरी, सारदा मेटल इन्डस्ट्रिजका बासुदेव गुप्ता, राधाकृष्ण हर्बल स्टोरका कृष्णप्रसाद बन्जारा, हर्ब्स एन्ड अर्गानिक प्रा।लि।का लोब्साङ शेर्पा, जम्बाला हर्बल प्रा।लि।का धनबहादुर लामा, ओम कामना स्टोर एण्ड सप्लायर्सका पञ्चरत्न ज्यापु, ओम नमो बुद्ध कृषि फर्मका कृष्णराज तिमिल्सिना, लक्ष्मी माता दूध डेरीका हरिशरण सापकोटालगायत व्यवसायी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पत्रकार रामचन्द्र दुलाललगायतको समेत उपस्थिति थियो।

कार्यक्रममा सहभागीहरूलाई थाइल्यान्डस्थित नेपाली दूतावासका महामहिम राजदूत धनबहादुर ओलीले सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रमका मुख्य योजनाकार तथा संयोजक मोहनकृष्ण अधिकारीले नेपालमा प्रशस्त मात्रामा उपलब्ध जडीबुटीलाई कच्चा पदार्थका रूपमा मात्र निर्यात नगरी स्वदेशमै प्रशोधन गरेर उच्च मूल्यका उत्पादनमा रूपान्तरण गर्न सके यस क्षेत्रबाट ठूलो आर्थिक सम्भावना सिर्जना गर्न सकिने बताए।

अधिकारीले नेपाली जडीबुटी तथा प्राकृतिक उत्पादनको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न व्यवसायी, सरकार, नेपाली दूतावास तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए। उनले आगामी दिनमा पनि नेपालबाट उत्पादित जडीबुटी तथा अन्य प्राकृतिक उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि यस्ता व्यवसायिक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए।

नेपालमा उपलब्ध बहुमूल्य जडीबुटीको व्यवस्थित उत्पादन, संकलन, प्रशोधन, प्याकेजिङ तथा अन्तर्राष्ट्रिय बजारीकरणमार्फत जडीबुटी व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो। साथै, नेपाली उत्पादनका लागि नयाँ अन्तर्राष्ट्रिय बजार खोज्न तथा विदेशी व्यवसायीसँग व्यापारिक सम्बन्ध विस्तार गर्न सरकारी निकाय र नेपाली दूतावाससँग समन्वय गर्ने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा नेपाली जडीबुटी तथा आयुर्वेद व्यवसायको प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यवसायी तथा संस्थालाई सम्मान गर्ने पहलसमेत गरिएको आयोजकले जनाएको छ। थाइल्यान्डस्थित नेपाली दूतावाससँग आगामी दिनमा व्यापारिक सहकार्य र बजार विस्तारका लागि आवश्यक समन्वय तथा सहयोग गर्न आयोजक पक्षले अनुरोधसमेत गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #मोहनकृष्ण अधिकारीको संयोजनमा थाइल्यान्डमा नेपाली जडीबुटी व्यवसायीको बीटुबी बैठक


तपाईको कमेन्ट लेख्नुहोस्