Techie IT
बिहीबार, असोज ८,२०८३

काठमाडौँ महानगर कांग्रेस सभापतिमा सम्पदा अभियन्ता तथा इन्जिनियर सुसन वैद्य


काठमाडौँ — नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा सुसन वैद्य निर्विरोध निर्वाचित हुनुभएको छ। पेशाले आर्किटेक्ट इन्जिनियर रहनुभएका वैद्य यसअघि काठमाडौँ महानगर समितिको सचिव पदमा कार्यरत हुनुहुन्थ्यो।

वैद्यको राजनीतिक र पेसागत यात्रा तथा योगदानका मुख्य पक्षहरू यस प्रकार छन्:

राजनीतिक यात्रा र योगदान

  • विद्यार्थी राजनीति: २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका वैद्य त्यसक्रममा प्रहरीको गोली लागेर घाइतेसमेत हुनुभएको थियो। २०५५ सालमा थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियु उपसभापति हुनुभएको उहाँले नेविसंघ काठमाडौँ जिल्लाको सदस्य, सह-सचिव र उपाध्यक्षका रूपमा काम गरिसक्नुभएको छ।

  • पार्टी सङ्गठन: कांग्रेसको १२ औँ र १३ औँ महाधिवेशनबाट काठमाडौँ जिल्ला सदस्य हुनुभएका वैद्य १४ औँ महाधिवेशनबाट अत्याधिक मतका साथ काठमाडौँ महानगर सचिव निर्वाचित हुनुभएको थियो।

  • उम्मेदवार सिफारिस: उहाँ २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर र २०८२ सालमा काठमाडौँ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस हुनुभएको थियो।

सामाजिक एवं सम्पदा संरक्षण आन्दोलन

काठमाडौँलाई बस्न योग्य सहर बनाउन र यहाँका ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणमा उहाँ निरन्तर सक्रिय रहँदै आउनुभएको छ:

  • रानीपोखरी पुनर्निर्माण: तत्कालीन मेयर विद्यासुन्दर शाक्यले पुरातात्त्विक मापदण्ड विपरीत रानीपोखरी पुनर्निर्माण गर्न लाग्दा विरोधको नेतृत्व गर्नुभएको थियो।

  • खुलामञ्च बचाउ अभियान: खुलामञ्चमा व्यापारिक सटर बनाउने निर्णयविरुद्ध ‘खुलामञ्च खुला गर’ अभियानको नेतृत्व गर्नुभयो, जसका कारण सरकार पछि हटेको थियो।

  • ‘अकुपाई टुँडिखेल’ र कमलपोखरी: टुँडिखेलको अतिक्रमण रोक्न सञ्चालित ‘अकुपाई टुँडिखेल’ तथा कमलपोखरीमा कङ्क्रीट प्रयोगविरुद्धको आन्दोलन र गुठी आन्दोलनमा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो।

पेसागत दक्षता र अनुभव

  • इन्जिनियरिङ र उद्यमशीलता: विगत १६ वर्षदेखि आफ्नै व्यवसायमार्फत इन्जिनियरिङ क्षेत्रमा सक्रिय वैद्यले नेपाल इन्जिनियर्स एसोसिएसनबाट ‘युथ प्रोफेसनल अवार्ड’ प्राप्त गर्नुभएको छ। उहाँ एसोसिएसनको ३१ औँ कार्यकारिणी सदस्य र ३३ औँ कार्यकारिणीमा कोषाध्यक्षसमेत रहनुभएको थियो।

  • विज्ञ सल्लाहकार: उहाँले राष्ट्रिय योजना आयोग, रक्षा मन्त्रालय (रक्षा मन्त्रीको सल्लाहकार), र २०७२ को भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा विज्ञ सल्लाहकारको रूपमा नीति निर्माण तथा प्राविधिक सहयोग पुर्‍याउनुभएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #सम्पदा अभियन्ता तथा इन्जिनियर सुसन वैद्य


तपाईको कमेन्ट लेख्नुहोस्