Techie IT
मंगलबार, भदौ २३,२०८३

दुःखमा एकता र आशाको दीप, रसुवा बाढी पीडितप्रति सिर्जनशील समाजको ऐक्यबद्धता


काठमाडौं, भाद्र २२
गत भाद्र १० गते रसुवामा गएको भीषण बाढीले निम्त्याएको मानवीय विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै सिर्जनशील काउन्सिल वडा नं. १ र राष्ट्रिय सिर्जनशील समाजको आयोजनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

बाढी तथा पहिरोमा परी दिवंगत हुनुभएका सम्पूर्ण मृत आत्माहरूको चिरशान्तिको कामना, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता र उद्धारको प्रतीक्षामा रहनुभएका नागरिकहरूको सुरक्षित जीवनको कामना गर्दै कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष विदुर सापकोटा, वडा सदस्यहरू, तारकेश्वर नगरपालिका वडा नं. ७ का वडा सदस्य रघुनाथ ढकाल, स्थानीय बुद्धिजीवी, विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तित्व, सुरक्षाकर्मी, पत्रकार, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम संस्थाका सचिव एवं शिक्षाकर्मी प्रकाश ढकालले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष विदुर सापकोटा तथा तारकेश्वर स्काउटका आयुक्त पूर्ण प्रसाद तिमल्सिनाले श्रद्धाञ्जली तथा संवेदनाका मन्तव्य राख्नुभएको थियो। संस्थाका उपाध्यक्ष अनिल भण्डारीले समापन मन्तव्य राख्दै विपत्तिको यस घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउनु नै मानवीय दायित्व भएको धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका क्रममा गरिएको दीप प्रज्वलन केवल एउटा औपचारिक कार्यक्रम थिएन; त्यो दुःखमा रहेका परिवारहरूप्रतिको ऐक्यबद्धता, अन्धकारमा आशाको उज्यालो र मानवताप्रतिको सामूहिक प्रतिबद्धताको प्रतीक बनेको थियो।

विपत्ति जुनसुकै ठाउँमा, जुनसुकै बेला आउन सक्छ। प्राकृतिक विपत्तिले भौतिक संरचना ढाल्न सक्छ, धन–सम्पत्ति नष्ट गर्न सक्छ, तर मानवताको भावना कहिल्यै ढल्नु हुँदैन। संकटका बेला हाम्रो एकता, सहकार्य र पारस्परिक सहयोग अझ बलियो बन्नुपर्छ।

सक्नेले आर्थिक वा जिन्सी सहयोग गरौँ। सकिँदैन भने पीडितहरूप्रति सहानुभूति र सद्भाव राखौँ। केही गर्न नसक्ने अवस्थामा पनि पवित्र मनले प्रार्थना गरौँ, मौनधारण गरौँ र पीडित परिवारहरूप्रति आफ्नो ऐक्यबद्धता प्रकट गरौँ। किनकि विपत्तिको समयमा सानोभन्दा सानो संवेदना पनि पीडितका लागि ठूलो साहस र आशाको स्रोत बन्न सक्छ।

“मानवता जीवित रहोस्,
एकता बलियो बनोस्,
सहकार्य निरन्तर रहोस्,
र सबैको जीवन सुरक्षित रहोस्।”

यही पवित्र भावना र मानवीय उत्तरदायित्वबोधका साथ कार्यक्रम आयोजना गरिएको जानकारी संस्थाका सचिव प्रकाश ढकालले दिनुभएको छ।

कार्यक्रमका क्रममा परेको भीषण वर्षाका कारण पूर्वनिर्धारित विहानी चोकबाट कार्यक्रम स्थल परिवर्तन गरी चुनदेवी मन्दिर परिसरमा कार्यक्रम सञ्चालन गर्नुपरेको थियो। स्थान परिवर्तनका कारण सहभागी हुन आउनुभएका केही महानुभावहरूमा पर्न गएको असुविधाप्रति आयोजक संस्थाले हार्दिक क्षमायाचना व्यक्त गरेको छ।

कार्यक्रम मिति : २०८३ साल भाद्र २२ गते, सोमबार
आयोजक : सिर्जनशील काउन्सिल वडा नं. १ तथा राष्ट्रिय सिर्जनशील समाज


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्