Techie IT
शुक्रबार, भदौ १९,२०८३

शिक्षक मृत्यु घटनामा भरुवा बन्दुकसहित एक पक्राउ


संखुवासभा, मकालु । संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा शिक्षक मृत फेला परेको घटनामा प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा मकालु–१ सिउँडीबारीका करिब ३३ वर्षीय पत्न कुलुङ राईलाई शुक्रबार बिहान करिब ११ बजे घटनामा प्रयोग भएको भनिएको भरुवा बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका राईमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

सिलिचोङ गाउँपालिका–५ याफु घर भई कालिका आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत करिब ३५/३६ वर्षीय नरकुबिर खम्बु राई बिहीबार राति विद्यालय परिसरमै मृत अवस्थामा फेला पर्नुभएको थियो ।

प्रहरीका अनुसार खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाट बाहिर निस्कने क्रममा बन्दुक पड्किएको आवाज सुनिएको थियो। आवाजपछि विद्यालयमै बस्दै आएकी शिक्षिका टिकामाया राई बाहिर निस्कँदा नरकुबिर ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला पार्नुभएको थियो ।

Advertisement

घटनाको जानकारी बिहीबार राति करिब ११ बजे प्रहरीलाई प्राप्त भएपछि हेदाङना, नुम तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरको पछाडिको भागमा भरुवा बन्दुकले लागेको चोट देखिएको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको बन्दुक, मृत्युको वास्तविक कारण र घटनाको प्रकृतिबारे थप अनुसन्धान भइरहेको डिएसपी मैनालीले बताउनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्