Techie IT
सोमबार, भदौ १५,२०८३

नेविसंघका जिल्ला उपसभापति बादल राईसहित ७५ जना श्रम संस्कृति पार्टीमा प्रवेश


खाँदबारी । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका जिल्ला उपसभापति बादल राईसहित ७५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

संखुवासभाको खाँदबारीमा सोमबार आयोजित एक कार्यक्रममा उनीहरू श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन्। पार्टीका केन्द्रीय सदस्य तथा श्रमदाता दिपेन्द्र बान्तावाको उपस्थितिमा राईसहित विभिन्न क्षेत्रका युवाहरू पार्टीमा प्रवेश गरेका हुन् ।

खाँदबारी नगर कमिटीका संयोजक ईसाक राईको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूलाई केन्द्रीय सदस्य बान्तावाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका केन्द्रीय सदस्य बान्तावाले श्रम र उत्पादनबाट मात्रै देशको समृद्धि सम्भव हुने बताउनुभयो । उहाँले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले श्रम, उत्पादन र आत्मनिर्भरतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको दाबी गर्नुभयो ।

बान्तावाले श्रम संस्कृतिको राजनीतिक अभियान विस्तार हुँदै गएको उल्लेख गर्दै ढिलो चाँडो श्रम संस्कृति पार्टी देशकै पहिलो राजनीतिक शक्ति बन्ने दाबीसमेत गर्नुभयो ।

पार्टी प्रवेश गर्नेहरूले देश निर्माणका लागि श्रमलाई राजनीतिको मूल आधार बनाउनुपर्ने आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रममा श्रम संस्कृति पार्टीका संखुवासभा प्रदेश ‘क’ का संयोजक कृष्ण तामाङ, ताराबिर राईलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #केन्द्रिय सदस्य, #दिपेन्द्र बान्तावा, #पार्टी प्रबेश, #श्रम संस्कृति पार्टी, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्