रोटरी क्लब अफ काठमाडौं नर्थमा नयाँ नेतृत्व, दिगो र प्रभावमुखी सेवामा प्रतिबद्धता
काठमाडौं । रोटरी क्लब अफ काठमाडौं नर्थले आफ्नो ३३औँ पदस्थापना समारोह सम्पन्न गर्दै रोटरी वर्ष २०२६–२७ का लागि नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ। समारोहमा नयाँ नेतृत्वले प्रभावमुखी, दिगो र समुदायको वास्तविक आवश्यकतामा आधारित सेवा परियोजनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
धुम्बाराहीस्थित होटल रमादामा शनिबार आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का डिस्ट्रिक्ट गभर्नर नोमिनी (डीजीएन) रोटेरियन अमित गिरी प्रमुख अतिथि रहेका थिए। कार्यक्रम क्लबकी नवनिर्वाचित अध्यक्ष (प्रेसिडेन्ट) रोटेरियन सीता पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा रोटरी वर्ष २०२६–२७ का असिस्टेन्ट गभर्नर रोटेरियन ज्ञानेन्द्र भारी, निवर्तमान असिस्टेन्ट गभर्नर रोटेरियन मञ्जु धमला तथा क्लबका इमिडियट पास्ट प्रेसिडेन्ट रोटेरियन प्रदीप थापा विशेष अतिथिका रूपमा सहभागी थिए। साथै, क्लबका पूर्व अध्यक्ष, रोटेरियन, रोटरी परिवार, रोटर्याक्ट तथा इन्टर्याक्ट क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा प्रमुख अतिथि डीजीएन अमित गिरीले नवनिर्वाचित अध्यक्ष सीता पौडेललाई पद तथा गोपनीयताको शपथ गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले तीन दशकभन्दा बढी समयदेखि सामाजिक सेवामा सक्रिय रहेको रोटरी क्लब अफ काठमाडौं नर्थले नयाँ नेतृत्वमा अझ प्रभावकारी सेवा परियोजना सञ्चालन गर्दै रोटरीको सार्वजनिक छवि सुदृढ बनाउने र समाजमा दिगो तथा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

पदभार ग्रहणपछि अध्यक्ष सीता पौडेलले आफ्नो कार्यकालमा सेवा परियोजनाको संख्याभन्दा गुणस्तर, प्रभावकारिता र दीर्घकालीन परिणामलाई प्राथमिकता दिइने बताइन्। उनले रोटरीको मूल आदर्श ‘निजी स्वार्थभन्दा माथि उठेर सेवा’ लाई व्यवहारमा उतार्दै समुदायको वास्तविक आवश्यकताका आधारमा परियोजना सञ्चालन गरिने स्पष्ट पारिन्।
उनले रोटेरियनहरूले आफ्नो पेशा, व्यवसाय र व्यवहारमा रोटरीका चार मार्गदर्शक सिद्धान्तलाई आत्मसात गर्दै आएको उल्लेख गर्दै ती सिद्धान्तले व्यक्तिगत तथा सामाजिक जीवनका चुनौती समाधान गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिन्। पद भनेको केवल जिम्मेवारी नभई रोटरीका मूल्य, आदर्श र मान्यतालाई कर्ममार्फत कार्यान्वयन गर्ने अवसर र दायित्व भएको उनको भनाइ थियो।

“समाज परिवर्तनको आधार धन होइन, सेवा गर्ने मन हो,” भन्दै उनले सेवाभाव भएका सबैलाई समाज रूपान्तरणको अभियानमा एकजुट हुन आह्वान गरिन्।
यस अवसरमा अध्यक्ष पौडेलले रोटरी वर्ष २०२६–२७ का बोर्ड सदस्यहरूलाई पनि पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। पदस्थापनापछि उनले क्लबको १४००औँ नियमित बैठकको समेत अध्यक्षता गरिन्। बैठकमा नयाँ नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै विभिन्न रोटेरियन तथा सहभागीहरूले ६० हजार रुपैयाँभन्दा बढीको ‘सनसाइन’ योगदान गरेका थिए, जसमा नगद योगदान मात्र ४० हजार रुपैयाँभन्दा बढी रहेको क्लबले जनाएको छ।
समारोहमा वरिष्ठ रोटेरियन तथा क्लब मेन्टर रोटेरियन गोपालराज पोखरेललाई रोटरीमार्फत २५ वर्षको निरन्तर समर्पित सेवाको कदर गर्दै विशेष सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो। त्यस्तै, स्वास्थ्य पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाली हेल्थ का सम्पादक रामप्रसाद न्यौपानेलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा सांस्कृतिक नृत्य प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। कार्यक्रमको सञ्चालन पास्ट प्रेसिडेन्ट गणेश पौडेलले गरेका थिए भने आगामी वर्षका प्रेसिडेन्ट विष्णु पौडेलले स्वागत मन्तव्य दिएका थिए। पास्ट प्रेसिडेन्ट डा. सुवास घिमिरेले डीजीएनको परिचय प्रस्तुत गरेका थिए भने उत्तम खड्काले नयाँ सदस्य स्वागत कार्यक्रम सञ्चालन गरेका थिए। प्रेसिडेन्ट नोमिनी शंकर खड्काले धन्यवाद ज्ञापन गरेका थिए भने सर्जेन्ट एट आर्म्स नृपेन्द्र श्रेष्ठले कार्यक्रम प्रतिवेदन प्रस्तुत गरेका थिए।
सोही अवसरमा क्लबको स्मारिका (सोभिनियर) समेत विमोचन गरिएको थियो।
रोटरी क्लब अफ काठमाडौं नर्थ विगत तीन दशकदेखि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खानेपानी, शान्ति स्थापना, मातृ तथा शिशु स्वास्थ्य, आधारभूत शिक्षा, रोग निवारण तथा आर्थिक सशक्तीकरणलगायत रोटरीका सात प्राथमिकता क्षेत्रमा विभिन्न मानवीय सेवा परियोजना सञ्चालन गर्दै आएको अग्रणी सामाजिक संस्थाका रूपमा परिचित छ।
हाल नेपालभर रोटरीका १६३ वटा क्लब सक्रिय रहेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #रोटरी क्लब अफ काठमाडौं नर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्