Techie IT
आईतबार, असार ७,२०८३

आज काठमाडौंका सबै संस्थागत विद्यालयमा शोक बिदा


काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिका कोषाध्यक्ष तथा तारकेश्वर नगरपालिका–८, नेपालटारस्थित नेशनल मोडल विद्यालयका प्रिन्सिपल डीएन अधिकारीको असामयिक निधनप्रति शोक व्यक्त गर्दै प्याब्सन काठमाडौंले जिल्लाभित्रका सबै स्थानीय तहका संस्थागत विद्यालयहरूमा आज एक दिन शोक बिदाको आह्वान गरेको छ।

अधिकारी आफ्नै निवास, तारकेश्वर–८ स्थित भेटघाट चोक नजिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान सुरु भइसकेको भए पनि मृत्युको वास्तविक कारणबारे हालसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

पारिवारिक स्रोतका अनुसार श्रीमतीको निधनपछि अधिकारी केही समयदेखि मानसिक रूपमा पीडामा रहेको बताइएको छ। यद्यपि, उनको मृत्युको कारणबारे सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी रहेको छ।

प्याब्सन काठमाडौंले जारी गरेको सूचनामा स्वर्गीय अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै २०८३ असार ७ गते आइतबार जिल्लाभित्रका संस्थागत विद्यालयहरूमा शोक बिदा मनाउन अनुरोध गरेको छ। सोहीअनुसार धेरै विद्यालयहरूले शैक्षिक तथा प्रशासनिक गतिविधि बन्द रहने सूचना जारी गरेका छन्।

शिक्षा क्षेत्रमा मिलनसार, सहयोगी तथा सक्रिय व्यक्तित्वका रूपमा परिचित अधिकारीको निधनले विद्यालय समुदाय, शिक्षक, विद्यार्थी तथा शिक्षा क्षेत्रका सरोकारवालामाझ गहिरो शोक छाएको छ। विभिन्न शैक्षिक संस्था तथा शिक्षाकर्मीहरूले उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #डीएन अधिकारीको असामयिक निधन


तपाईको कमेन्ट लेख्नुहोस्