सडक विस्तारको नाममा टोखाको अस्तित्व संकटमा नपार्न स्थानीयको नगरपालिकालाई ज्ञापनपत्र
काठमाडौं, जेठ १९ – सामाखुसी–टोखा–झोर सडक खण्ड आसपासका घरजग्गाधनी, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले सडक विस्तारको नाममा निर्माण गतिविधिमा अवरोध सिर्जना गर्ने र निजी सम्पत्तिमाथि अनिश्चितता बढाउने कार्य तत्काल रोक्न टोखा नगरपालिकासँग माग गरेका छन्।
सडक विस्तार पीडित संघर्ष समिति तथा प्रभावित स्थानीयवासीहरूले सोमबार टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कानुनी प्रक्रिया पूरा नगरी सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रलाई ‘नो कन्स्ट्रक्सन जोन’ बनाउने चर्चा र त्यसकै आधारमा नक्सा पास प्रक्रिया प्रभावित पार्ने कार्यप्रति गम्भीर आपत्ति जनाएका हुन्।
ज्ञापनपत्रमा सर्वोच्च अदालतले सडक विस्तारसम्बन्धी कुनै पनि कार्य प्रचलित कानुन, विधि र प्रक्रिया पूरा गरेर मात्र अघि बढाउन निर्देशन दिइसकेको स्मरण गराउँदै नागरिकको संवैधानिक सम्पत्ति अधिकारमाथि हतारमा हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरिएको छ।
स्थानीयवासीका अनुसार टोखा केवल सडक विस्तारसँग जोडिएको क्षेत्र मात्र नभई काठमाडौं उपत्यकाको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत पहिचान बोकेको महत्वपूर्ण बस्ती हो। यहाँ रहेका मन्दिर, देवालय, पोखरी, धारा, फल्चा, सत्तल, जात्रा तथा विभिन्न सांस्कृतिक परम्पराहरूले टोखालाई जीवित सम्पदा क्षेत्रका रूपमा स्थापित गरेको उनीहरूको भनाइ छ।
“सडक विस्तारको नाममा हजारौँ स्थानीयवासीलाई विस्थापित गर्ने, सयौँ वर्ष पुराना सांस्कृतिक सम्पदालाई जोखिममा पार्ने र ऐतिहासिक बस्तीको अस्तित्व संकटमा पार्ने कुनै पनि निर्णय स्थानीय समुदायको सहमति बिना स्वीकार्य हुन सक्दैन,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
स्थानीयले सामाखुसी–टोखा–झोर सडकलाई काठमाडौं–केरुङ अन्तर्राष्ट्रिय राजमार्गको भागका रूपमा औपचारिक घोषणा गरिएको स्पष्ट कानुनी आधार हालसम्म सार्वजनिक नभएको दाबी गरेका छन्। उनीहरूका अनुसार नेपाल–चीन जोड्ने उक्त परियोजना अझै अध्ययन, परामर्श, सम्भाव्यता परीक्षण तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने चरणमै रहेकाले अहिले नै निर्माण निषेधित क्षेत्र घोषणा गर्नु असान्दर्भिक हुनेछ।
ज्ञापनपत्रमा सडक विस्तारका लागि उपलब्ध वैकल्पिक मार्गहरूको अध्ययन, घना बस्तीमा पर्न सक्ने सामाजिक तथा आर्थिक प्रभावको मूल्याङ्कन, सांस्कृतिक सम्पदाको संरक्षण तथा सर्वोच्च अदालतका स्थापित नजिरहरूलाई समेत ध्यान दिन आग्रह गरिएको छ।
स्थानीयवासीहरूले हाल चर्चामा रहेको २५/२५ मिटर मापदण्डलाई आधार बनाएर निर्माण निषेधित क्षेत्र घोषणा गर्ने कार्य रोक्न, विगतकै व्यवस्था अनुसार नक्सा पास प्रक्रिया सहज बनाउन तथा विषयलाई संवाद, सहमति र कानुनी प्रक्रियामार्फत समाधान गर्न नगरपालिकासँग माग गरेका छन्।
“यो केवल सडक विस्तारको विषय होइन, हाम्रो पुस्तौंदेखिको थातथलो, संस्कृति, सम्पदा र अस्तित्वसँग जोडिएको प्रश्न हो,” स्थानीयवासीहरूको भनाइ उद्धृत गर्दै ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
उनीहरूले संविधान, कानुन र न्यायका मूल्य–मान्यताको सम्मान गर्दै नगरपालिका नेतृत्वले स्थानीय जनभावना, सांस्कृतिक संवेदनशीलता तथा नागरिक अधिकारलाई केन्द्रमा राखेर निर्णय गर्ने विश्वास समेत व्यक्त गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कानुनी प्रक्रिया बिना ‘नो कन्स्ट्रक्सन जोन’ स्वीकार्य नहुने, #सामाखुसी–टोखा–झोर सडक विस्तारमा स्थानीयको आपत्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्