कोशी प्रदेशस्तरीय ब्याडमिन्टन अम्पायर क्षमता अभिवृद्धि तालिम सम्पन्न (फोटो सहित)
खाँदबारी । ब्याडमिन्टन खेलको गुणस्तरीय सञ्चालन, निष्पक्ष निर्णायक प्रणालीको विकास तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष अम्पायर उत्पादन गर्ने उद्देश्यले खाँदबारीमा सञ्चालन गरिएको पाँचदिने कोशी प्रदेशस्तरीय अम्पायर डेभलपमेन्ट तथा रिफ्रेस तालिम सम्पन्न भएको छ ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग, कोशी प्रदेश ब्याडमिन्टन संघको आयोजनामा तथा संखुवासभा ब्याडमिन्टन संघको सह–आयोजनामा जेठ १५ गतेदेखि सञ्चालन भएको तालिम मङ्गलबार समापन गरिएको हो ।

तालिममा कोशी प्रदेशका १४ जिल्लाका ४५ जना अम्पायर, प्रशिक्षक तथा खेलकर्मीको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय रेफ्री तथा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सचिव दीपक थापाले मुख्य प्रशिक्षकका रूपमा प्रशिक्षण दिनुभएको थियो ।
तालिममा अन्तर्राष्ट्रियस्तरमा लागू भएका अद्यावधिक नियम, खेल सञ्चालनका प्राविधिक पक्ष, अम्पायरिङका व्यवहारिक अभ्यास, खेल व्यवस्थापन तथा निर्णय प्रक्रियासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ । बढ्दो प्रतिस्पर्धासँगै ब्याडमिन्टन खेललाई थप व्यवस्थित, विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरअनुकूल बनाउन दक्ष अम्पायर तथा प्राविधिक जनशक्तिको आवश्यकता महसुस गर्दै तालिम आयोजना गरिएको हो ।

समापन समारोहका प्रमुख अतिथि खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले तालिम सफलतापूर्वक पूरा गर्ने सम्पूर्ण सहभागीलाई बधाई दिँदै प्राप्त ज्ञान, सीप र अनुभवलाई खेलकुद क्षेत्रको विकासमा उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले प्रशिक्षित अम्पायरहरूले प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा गुणस्तरीय खेल सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख थपलियाले खाँदबारीमा ब्याडमिन्टन खेलको लोकप्रियता बढ्दै गएको उल्लेख गर्दै नगरपालिकाको सहयोगमा आगामी दिनमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले खेल पर्यटन, खेल संस्कृतिको विकास तथा स्थानीय खेलाडीलाई अवसर सिर्जना गर्ने उहाँको भनाइ थियो ।
यसअघि आयोजित पत्रकार भेटघाट कार्यक्रममा संखुवासभा ब्याडमिन्टन संघका सचिव रुद्रमणि श्रेष्ठले ब्याडमिन्टन विश्वका २०६ राष्ट्रमा खेलिने तथा ओलम्पिकमा समेत समावेश लोकप्रिय खेल भएकाले अन्तर्राष्ट्रिय नियम, मापदण्ड र निर्णय प्रक्रियासम्बन्धी ज्ञान अभिवृद्धि गर्न तालिम सञ्चालन गरिएको जानकारी दिनुभएको थियो । उहाँले दक्ष अम्पायर उत्पादन बिना खेलको स्तरवृद्धि सम्भव नहुने उल्लेख गर्दै यस्ता तालिमले प्रदेशभर खेलकुदको व्यावसायिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

खेलकर्मीहरूका अनुसार नेपालमा ब्याडमिन्टन खेलप्रति युवापुस्ताको आकर्षण बढ्दो क्रममा रहेको छ । खेलाडी उत्पादनसँगै प्रशिक्षक, अम्पायर र प्राविधिक जनशक्तिको क्षमता विकास भएमा प्रदेश तथा राष्ट्रियस्तरमा प्रतियोगिताको गुणस्तर समेत उकासिने अपेक्षा गरिएको छ । तालिमले कोशी प्रदेशका अम्पायरहरूको दक्षता अभिवृद्धि गर्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य प्राविधिक जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
संखुवासभा ब्याडमिन्टन संघका अध्यक्ष सञ्जीवकुमार श्रेष्ठ (राजु) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष योगेश्वर श्रेष्ठ, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यसमितिका सदस्य इन्द्र गिरीलगायत खेलकर्मी, प्रशिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि थपलियाले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

क्याटेगोरी : खेलकुद, समाचार, खेलकुद
ट्याग : #कोशी प्रदेश ब्याडमिन्टन संघ, #कोशी प्रदेशस्तरीय अम्पायर डेभलपमेन्ट तथा रिफ्रेस तालिम, #खादबारी, #नेपाल ब्याडमिन्टन संघ, #ब्याडमिन्टन, #संखुवासभा, #संखुवासभा ब्याडमिन्टन संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्