Techie IT
आईतबार, जेठ १७,२०८३

नुवाकोट शिवपुरीका बासिन्दाका लागि रोटरीको सामुदायिक स्वास्थ्य शिविर


काठमाडौं । रोटरी क्लब अफ बानेश्वरले सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा नुवाकोटको शिवपुरी गाउँपालिकास्थित शिवालय प्राथमिक विद्यालयमा सामुदायिक स्वास्थ्य शिविर सफलतापूर्वक सञ्चालन गरेको छ । उक्त शिविरबाट ३५० भन्दा बढी सहभागी लाभान्वित भएका थिए ।

शिविरमा सामान्य चिकित्सा, सामान्य शल्यचिकित्सा, बालरोग, हाडजोर्नी, प्रसूति तथा स्त्रीरोग, दाँत, आँखा तथा नाक–कान–घाँटी (ईएनटी) सम्बन्धी परामर्श र उपचार सेवा प्रदान गरिएको थियो । साथै ईसीजी, यूयसजी तथा प्रयोगशाला परीक्षण सेवासमेत उपलब्ध गराइएको थियो । शिवपुरी गाउँपालिकाका धेरै बासिन्दाको स्वास्थ्य सेवामा पहुँच सीमित भएकाले यो स्वास्थ्य शिविरले उनीहरूलाई आफ्नो स्वास्थ्यबारे जानकारी लिन र उपचार सेवा प्राप्त गर्ने अवसर प्रदान गर्‍यो ।

औषधि कम्पनीहरूले पनि सहयोग गर्दै बिरामीहरूलाई निःशुल्क रूपमा १ लाख १४ हजार रुपैयाँ बराबरको औषधि वितरण गरेका थिए । यसले ग्रामीण नेपालमा उपचार र रोग पहिचानबीच आर्थिक कारणले सिर्जना हुने बाधा कम गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । औषधि प्राप्त गरेपछि सहभागीहरूको अनुहारमा देखिएको राहतले सहज स्वास्थ्य सेवाको महत्वलाई झल्काएको थियो ।

स्थानीय समुदायबाट शिविरप्रति अत्यन्त उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो । धेरै सहभागीका लागि यो विशेषज्ञ चिकित्सकसँगको पहिलो परामर्श थियो भने अधिकांशले महिनौंदेखि, कतिपयले वर्षौँदेखि स्वास्थ्य परीक्षण गराउन सकेका थिएनन् । शिविरले उनीहरूलाई लामो समयदेखि उपचार नपाएका समस्याबारे समाधान खोज्ने अवसर दिएको थियो । सहभागिताको संख्याले नै शिवपुरीजस्ता क्षेत्रमा स्वास्थ्य सेवाको आवश्यकता कति गम्भीर छ भन्ने स्पष्ट देखाएको थियो, जहाँ नजिकको अस्पतालसम्म पुग्न समय र खर्च दुवै चुनौतीपूर्ण हुन सक्छ ।

रोटरी क्लब अफ बानेश्वरले विशेषज्ञता र समर्पणका लागि काठमाडौं मेडिकल कलेजप्रति, कार्यक्रम सञ्चालनमा सहजीकरण गरेकोमा शिवपुरी गाउँपालिकाप्रति, विद्यालय उपलब्ध गराएकोमा शिबालय प्राथमिक विद्यालयप्रति तथा कार्यक्रम सफल बनाउन समय र स्रोत उपलब्ध गराउने सम्पूर्ण औषधि कम्पनी, रोटेरियन तथा स्वयंसेवकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोट शिवपुरीका बासिन्दाका लागि रोटरीको सामुदायिक स्वास्थ्य शिविर


तपाईको कमेन्ट लेख्नुहोस्