Techie IT
शुक्रबार, जेठ १५,२०८३

नुवाकोटकी सदिक्षा प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम


नुवाकोट । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयद्वारा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा नुवाकोटका दुई छात्राले उल्लेखनीय सफलता हासिल गरेका छन् ।

‘गणतन्त्र स्थापनाको १८ वर्ष : कार्यान्वयन र चुनौती’ विषयमा आयोजित माध्यमिक विद्यालय तह (कक्षा ९–१२) स्तरीय निबन्ध प्रतियोगितामा नुवाकोट शिवपुरीकी सदिक्षा भण्डारी प्रथम भएकी हुन् । श्री जनज्ञान निकेतन माध्यमिक विद्यालयकी छात्रा सदिक्षाले प्रदेशभरबाट सहभागी १६१ प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट स्थान हासिल गरेकी शिक्षा विकास निर्देशनालय, हेटौँडाले जनाएको छ ।

यस उपलब्धिसँगै जनज्ञान निकेतन माध्यमिक विद्यालयले थप गौरव प्राप्त गरेको विद्यालय परिवारले जनाएको छ । विद्यालयले सदिक्षालाई बधाई दिँदै उनको मेहनत, लगनशीलता र उत्कृष्ट लेखन क्षमताले विद्यालयको प्रतिष्ठा अझ उचो बनाएको उल्लेख गरेको छ ।

प्रतियोगितामा रामेछापको श्री मन्थली माध्यमिक विद्यालयकी रिश्ता कार्की द्वितीय तथा सिन्धुलीको गौमती माध्यमिक विद्यालयका निराकार सिग्देल तृतीय भएका छन् ।

त्यसैगरी, प्रोत्साहन पुरस्कार नुवाकोट कपिलेश्वरकी अनुश्री मिश्रले प्राप्त गरेकी छन् । उनी काठमाडौंको टोखा नगरपालिका स्थित फ्लोरेसेन्ट माध्यमिक विद्यालयकी छात्रा हुन् । अर्का प्रोत्साहन पुरस्कार विजेता काठमाडौंस्थित विद्याश्री पाठशालाका विद्यार्थी आयुष घिमिरे रहेका छन् ।

शिक्षा विकास निर्देशनालयका शिक्षा अधिकृत होमबहादुर नेपालीद्वारा जारी सूचनाअनुसार प्रथम, द्वितीय, तृतीय तथा प्रोत्साहन पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई १८औँ गणतन्त्र दिवस मूल समारोहका अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । उक्त कार्यक्रम जेठ १५ गते बिहान ८ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजना हुने जनाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्