Techie IT
शुक्रबार, जेठ १५,२०८३

नागार्जुन ठूलागाउँ माविलाई शैक्षिक तथा डिजिटल सामग्री हस्तान्तरण , महानायक राजेश हमालद्वारा प्रविधियुक्त शिक्षामा जोड


नागार्जुनस्थित ठूलागाउँ माध्यमिक विद्यालयमा नमुना कक्षा सञ्चालनका लागि शैक्षिक तथा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ। बुधकार मञ्चद्वारा अघि सारिएको ‘प्रोजेक्ट जिरो इन्भेष्टमेन्ट’ अभियानअन्तर्गत कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक तथा डिजिटल सामग्री विद्यालयलाई प्रदान गरिएको हो।

आइसिटी पत्रकार विकास मञ्चका अध्यक्ष पुस्करराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै हमालले शिक्षा समाज परिवर्तनको सबैभन्दा शक्तिशाली माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले आधुनिक प्रविधिसँग जोडिएको शिक्षा प्रणालीमार्फत मात्र नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।

‘प्रोजेक्ट जिरो इन्भेष्टमेन्ट’ जस्ता अभियानले सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षासँग जोड्ने ऐतिहासिक अवसर सिर्जना गरेको उहाँको भनाइ थियो।

कार्यक्रमका विशिष्ट अतिथि तथा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रको रूपान्तरणका लागि यस्ता नविन तथा उदाहरणीय कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि नगरपालिकाले यस्ता अभियानलाई निरन्तर सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक अर्जुन फुयाँल तथा सह–प्रधानाध्यापक शिवप्रसाद फुयाँलले विद्यालयले शून्य अवस्थाबाट संघर्ष गर्दै आजको अवस्थामा आइपुगेको स्मरण गर्दै विद्यार्थीहरूका लागि आवश्यक सामग्री उपलब्ध गराउने दाता तथा आयोजकप्रति आभार व्यक्त गर्नुभयो।

प्रमुख दाता, समाजसेवी तथा व्यवसायी गणेश रायले ‘प्रोजेक्ट जिरो इन्भेष्टमेन्ट’ अभियानको उद्देश्यबारे प्रकाश पार्दै बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि प्रविधि र सामूहिक सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

आइसिटी पत्रकार विकास मञ्चका उपाध्यक्ष कृष्णराज तिमिल्सिनाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र अभियानका गतिविधिबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष परशुराम अर्याल तथा टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले शिक्षा क्षेत्रको विकास र शैक्षिक रूपान्तरणमा आफ्नो ऐक्यबद्धता जनाउनुभयो।

त्यसैगरी बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब

उपरीक्षक (डीएसपी) एमलाल बन्जाडे, तारकेश्वर होटल एसोसिएसनका अध्यक्ष राजु फुयाँल, तङ्कदाका सञ्चालक योगेन्द्र महतो, स्थानीय समाजसेवी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण पत्रकार सावित्री बस्नेतले गर्नुभएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन ठूलागाउँ माविलाई शैक्षिक तथा डिजिटल सामग्री हस्तान्तरण


तपाईको कमेन्ट लेख्नुहोस्