Techie IT
शुक्रबार, जेठ १५,२०८३

कोशी प्रदेशका अम्पायरहरूको क्षमता अभिवृद्धिका लागि खाँदबारीमा पाँचदिने तालिम


खाँदबारी, जेठ १५ गते । ब्याडमिन्टन खेलका अम्पायरहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ज्ञान र सीप विकास गर्ने उद्देश्यले संखुवासभाको सदरमुकाम खाँदबारीमा बिहीबारदेखि पाँचदिने ‘अम्पायर डेभलपमेन्ट कोर्स तथा रिफ्रेस तालिम’ सुरु भएको छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग, कोशी प्रदेश ब्याडमिन्टन संघको आयोजनामा तथा संखुवासभा ब्याडमिन्टन संघको सहआयोजनामा सञ्चालन भएको तालिम जेठ १९ गतेसम्म चल्नेछ ।

आयोजकका अनुसार तालिममा कोशी प्रदेशका १४ जिल्लाका ४५ जना अम्पायर सहभागी छन् । तालिमका मुख्य प्रशिक्षक अन्तर्राष्ट्रिय रेफ्री तथा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सचिव दिपक थापा रहनुभएको छ ।

तालिमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा संखुवासभा ब्याडमिन्टन संघका सचिव रुद्रमणी श्रेष्ठ ले ब्याडमिन्टन ओलम्पिकमा समावेश अन्तर्राष्ट्रिय खेल भएकाले विश्वव्यापी रूपमा प्रचलित नियम, मापदण्ड र खेल सञ्चालन प्रक्रियाबारे प्रशिक्षण प्रदान गरिने बताउनुभयो ।

उहाँले तालिमले प्रदेशका अम्पायरहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल सञ्चालन, निर्णय प्रक्रिया र अम्पायरिङसम्बन्धी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा अन्तर्राष्ट्रियस्तरका अद्यावधिक नियम, खेल सञ्चालनका प्राविधिक पक्ष, अम्पायरिङका व्यवहारिक अभ्यास तथा निर्णय प्रक्रियासम्बन्धी प्रशिक्षण प्रदान गरिने जनाइएको छ । आयोजकले तालिमबाट प्रदेशका अम्पायरहरूको दक्षता अभिवृद्धि भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।


क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #hot, #अम्पायरको क्षमता अभिवृद्धि तालिम, #कोशी प्रदेश ब्याडमिन्टन संघ, #खादबारी, #नेपाल ब्याडमिन्टन संघ, #संखुवासभा, #संखुवासभा ब्याडमिन्टन संघ


तपाईको कमेन्ट लेख्नुहोस्