Techie IT
बुधबार, वैशाख ३०,२०८३

नुवाकोटको किम्ताङमा दुई दाजुभाइको हत्या, खोलामा लुकाइएको अवस्थामा शव फेला


त्रिशूली । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरी खोलामा लुकाइएको अवस्थामा आज शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङको हत्या गरेर शव किम्ताङ खोलामा ढुङ्गाले थिची लुकाइएको अवस्थामा भेटिएको हो।

प्रहरीका अनुसार एक व्यक्तिले गएराति फोनमार्फत आफूले हत्या गरेको स्वीकार गर्दै घटनास्थलबारे जानकारी दिएका थिए। सोही सूचनाका आधारमा खोजी गर्दा दुवै जनाको शव फेला परेको हो।

प्रहरी नायब उपरीक्षक लामाले आर्थिक लेनदेनको विवादका कारण हत्या भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए। घटनापछि फरार रहेका ती व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउपछि घटनाको विस्तृत विवरण खुल्ने प्रहरीको भनाइ छ।

हत्या स्वीकार गर्ने व्यक्तिले गोली प्रहार गरेर हत्या गरेको दाबी गरे पनि घटनास्थलबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको छ।

परिवारका सदस्यका अनुसार दाजुभाइ मंगलबार बिहान कुलो निर्माणको कामका लागि घरबाट निस्किएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए।

घटनास्थल सडकबाट करिब पाँच घण्टा पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि आज साँझ घटनास्थलबाट त्रिशूली अस्पताल ल्याउने तयारी भइरहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोटको किम्ताङमा दुई दाजुभाइको हत्या


तपाईको कमेन्ट लेख्नुहोस्