काठमाडौंको वसुन्धारास्थित साउथवेस्टर्न स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पुनः उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नै विगतका उपलब्धिलाई समेत पछि पारेको छ । विद्यालयबाट सहभागी सबै विद्यार्थी उत्तीर्ण हुनुका साथै पाँच जनाले पूर्ण ४ जीपीए ल्याएर नयाँ इतिहास कायम गरेका छन् ।
२०८२ सालको एसईई परीक्षामा विद्यालयबाट १०५ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ९२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् भने बाँकी १३ जनाले ३.२४ देखि ३.६० जीपीएसम्म प्राप्त गरेका छन् । विद्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्षको नतिजाले साउथवेस्टर्नको शैक्षिक उत्कृष्टताको निरन्तरतालाई अझ मजबुत बनाएको छ ।
विद्यालयका प्रधानाध्यापक डा. रमेश अधिकारीका अनुसार विद्यालयले स्थापना कालदेखि नै एसईई परीक्षामा उत्कृष्ट नतिजा कायम राख्दै आएको छ । “हाम्रो लक्ष्य केवल परीक्षा पास गराउनु मात्र होइन, विद्यार्थीलाई सक्षम, आत्मविश्वासी र व्यवहारिक बनाउनु हो । निरन्तरको मेहनत, अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक र विद्यार्थीको लगनशीलताकै परिणाम आजको सफलता हो ।” उनले बताए ।
विद्यालयले हालसम्म एसईई परीक्षामा बी वा बी प्लस ग्रेड आएको रेकर्ड नराखेको दाबी गरेको छ । जीपीए प्रणाली लागू भएको पहिलो वर्षमै उच्च नतिजा ल्याउने विद्यालयमध्ये दोस्रो स्थानमा परेको साउथवेस्टर्नले त्यसयता हरेक वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या बढाउँदै लगेको जनाएको छ । यसले विद्यालयको शैक्षिक गुणस्तरलाई थप प्रमाणित गरेको अभिभावकहरूको भनाइ छ ।
काठमाडौंको उत्तरी भेग टोखामा अवस्थित साउथवेस्टर्न स्कुल साउथवेस्टर्न ग्रुप लिमिटेड (एसडब्लूजी) अन्तर्गत सञ्चालन हुँदै आएको छ । आईएसओ ९००१ः२०१५ क्यूएमएस सर्टिफाइड यो विद्यालय २०६१ सालमा स्थापना भएको हो भने २०६८ सालदेखि ‘साउथवेस्टर्न एकेडेमी’ नामबाट सञ्चालनमा आएको हो । छोटो समयमै विद्यालयले शैक्षिक क्षेत्रमै छुट्टै पहिचान बनाउन सफल भएको छ ।
विद्यालयले प्ले ग्रुपदेखि कक्षा १० सम्म बालबालिका केन्द्रित ‘प्रोग्रेसिभ मोडेल’मा आधारित शिक्षण पद्धति अपनाएको छ । विशेषगरी ‘ह्यान्ड्स-अन एक्टिभिटी’, अनुभवमा आधारित सिकाइ र व्यवहारिक शिक्षालाई प्राथमिकता दिएको छ । विद्यार्थीलाई केवल पुस्तकमा सीमित नराखी उनीहरूको सिर्जनशीलता, नेतृत्व क्षमता, प्रस्तुतीकरण कला तथा व्यवहारिक सीप विकासमा समेत विशेष जोड दिएको छ । विद्यालयका कक्षाकोठा पूर्ण रूपमा प्रविधिमैत्री रहेका छन् । प्रत्येक कक्षामा प्रोजेक्टर जडान गरिएको छ, जसको माध्यमबाट विद्यार्थीहरूले विभिन्न विषयमा प्रोजेक्ट तयार गरी प्रस्तुत गर्ने अभ्यास गर्छन् । आधुनिक शिक्षण सामग्री र डिजिटल माध्यमको प्रयोगले विद्यार्थीको सिकाइलाई अझ प्रभावकारी बनाएको छ ।
विद्यालयमा कार्यरत शिक्षकहरू दक्ष, अनुभवी र सीपयुक्त छन् । जुनियर तहमा अध्यापन गराउने शिक्षकसमेत स्नातकदेखि पीएचडीसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् । शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि विद्यालयले नियमित रूपमा तालिम, वर्कसप तथा अन्य व्यावसायिक विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । यही कारण विद्यालयले विद्यार्थीमैत्री तथा परिणाममुखी शिक्षण वातावरण निर्माण गर्न सफल भएको प्रधानाध्यापक अधिकारी बताउँछन् ।
विद्यालयले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिने गरेको छ । विद्यार्थीहरूको समग्र विकासका लागि विद्यालयले शैक्षिक भ्रमण, फिल्ड भिजिट, हाइकिङ, विन्टर क्याम्प, पिकनिक तथा विभिन्न सांस्कृतिक कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको छ । नेपाली कला, संस्कृति र चाडपर्वलाई विशेष महत्व दिँदै विद्यालयले विद्यार्थीमा सामाजिक तथा सांस्कृतिक चेतना विकास गर्न पनि भूमिका खेल्दै आएको छ । जसको फलस्वरूप विद्यालयले हालसम्म १२ भन्दा बढी अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ । आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य विद्यालयले लिएको छ ।
उत्कृष्ट नतिजा, अनुशासित वातावरण, आधुनिक प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थीको समग्र विकासमा केन्द्रित अभ्यासकै कारण साउथवेस्टर्न स्कुल अहिले काठमाडौंको उत्तरी भेग तारकेश्वर, टोखा र बूढानीलकण्ठ क्षेत्रका विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाइको विद्यालयका रूपमा स्थापित हुँदै गएको छ ।
तपाईको कमेन्ट लेख्नुहोस्