Techie IT
आईतबार, वैशाख २०,२०८३

काठमाडौंमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलन हुने


ज्येष्ठ नागरिकहरुको अवस्था, सामाजिक सुरक्षा तथा पुस्तान्तरण ज्ञान आदान–प्रदानका विषयमा केन्द्रित अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलन आगामी मे ९–१०, २०२६ मा काठमाडौंमा आयोजना हुने भएको छ ।

मनमोहन मेमोरियल फाउन्डेशनको आयोजनामा हुन लागेको उक्त दुईदिने सम्मेलनमा नेपालसहित भारत, बंगलादेश र चीनका विज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनमा ज्येष्ठ नागरिकहरूको शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक अवस्थाबारे विस्तृत छलफल गरिनुका साथै उनीहरूको जीवन अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयमा विशेष जोड दिइने आयोजकले जनाएको छ ।

कार्यक्रम अन्तर्गत पहिलो दिन उद्घाटन सत्रसँगै ‘ज्येष्ठ नागरिक: अवस्था र आवश्यकताहरू’ तथा ‘बढ्दो ज्येष्ठ जनसंख्या र राष्ट्रिय चुनौती’ विषयमा छलफल हुनेछ । दोस्रो दिन ‘ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा र गरिमा’ र ‘पुस्तान्तरण ज्ञान तथा सीप हस्तान्तरण’ विषयमा सत्रहरू सञ्चालन गरिनेछ । सम्मेलनको अन्त्यमा ‘काठमाडौं घोषणा’ जारी गरिने कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार सम्मेलनले ज्येष्ठ नागरिकको अधिकार, सम्मान र सामाजिक सुरक्षालाई सुदृढ बनाउन आवश्यक नीति तथा कार्यक्रमबारे सुझाव संकलन गर्ने लक्ष्य राखेको छ। साथै, विभिन्न देशका सफल अभ्यासहरूको आदान–प्रदानमार्फत समावेशी र सभ्य समाज निर्माणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

मनमोहन मेमोरियल फाउन्डेशनले स्वर्गीय नेता मनमोहन अधिकारीको स्मृतिमा स्थापना भई सामाजिक सेवा, जनकल्याण तथा वरिष्ठ नागरिकको हकहितका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

को–को सहभागी हुन सक्छन् ?
यस सम्मेलनमा निम्न क्षेत्रका व्यक्तिहरू सहभागी हुन सक्नेछन्:
प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरू
नीति निर्माता तथा सरकारी निकायका प्रतिनिधिहरू
गैरसरकारी तथा सामाजिक संस्थाहरू
मानव स्रोत, विकास तथा सामाजिक क्षेत्रमा कार्यरत व्यक्तिहरू
ज्येष्ठ नागरिकसँग सम्बन्धित विषयमा रुचि राख्ने सबै सरोकारवाला

कसरी सहभागी हुने ?
सम्मेलनमा सहभागिता जनाउन इच्छुक व्यक्तिहरूले यहाँ क्लिक गरि दर्ता गर्न सक्नुहुनेछ ।


क्याटेगोरी : banner, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्